जनकपुरधामका व्यवसायी युवाको खुल्लापत्र

“कुण्ड र कुट्टीको सहर” भन्ने त सुन्नुभएकै होला । मन्दिर, बिद्यालय , वृद्धाश्रम या सार्वजनिक हितका सङ्घसंस्थाको दीर्घकालीन व्यवस्थापनका लागि गुठी गठन गरेर तिनको नाममा हजारौँ बिघा व्यवस्थापन गरिएको थियो ।

बहुदल आएपछि त्यसको संरक्षण र सम्बर्द्धन हुनपर्थ्यो तर उल्टो भयो । हामी भोकाएका स्यालजस्तो सार्वजनिक सम्पत्ति, संस्था र जग्गा निल्नतिर लाग्यौँ । दलहरूको शक्ति र चाहनामा सार्वजनिक जग्गा पचाएर भोट ओकल्ने भूमाफिया हरु पैदा भए।

हामीले क्रमशः चौर खायौँ । बग़ैचाहरु खायौँ । सटर बनाएर भाड़ा खाने भन्दै मन्दिर र कुट्टीको जग्गा खायौँ । बाहिर बाहिर जगत जननी माता जानकी लगायत अन्य भगवानको नाम भन्दै भित्रभित्रै मन्दिरहरुको नाममा रहेको हजारौँ बिघा गुठी जग्गा खायौँ । कुट्टी र कुण्ड पनि खायौँ ।

यसरी बिगाऱ्यौँ कि अब बनाउन लगभग मुश्किल छ । यसरी बिग्रियौँ कि कसैले बनाउन सकिन्छ कि भनेर सोच्यो भने मात्रै पनि त्यो नागरिक दुश्मन हुन्छ ! त्यसलाई फू गरेर ढालिदिने हाम्रो धम्की हुन्छ ।

सय थरी खेल छन् , तर एउटा क्रिकेटको मैदान बनाउन पनि हामीसँग जग्गा छैन । भोलि फुटबलदेखि टेनिससम्मले मैदान खोज्दै आए भने के होला ? जबकि पुरानो नक्सामात्रै हेर्ने हो भने पनि जनकपुरभरि पार्क र मैदान बनाउन पुग्ने पर्ती र ऐलानी जग्गा हामीसँग थिए ।

हामीसँग दल छ, सत्ता छ, शक्ति छ, पैसा छ, हामीले नै लेखेको ऐन छ, अदालत छ । केही नहोला । एउटा मेयर, एउटा सांसद या एउटा आबाज त हामी सबै मिलेर फू गरे पनि ढल्ला ! तर एक दिन सब मिलेर आए भने त हामी नै ढल्न पनि के बेर ! धेरै छोडौँ, कसैले हामीलाई नै फू गर्दै गुठीकै जग्गा मात्रै खोजी गर्यो र गुठीको हक़ कायम गर्ने हिम्मत गर्यो भने आधा जनकपुर सफा हुन्छ । हाम्रा आधा कार्यकर्ताको बिचल्ली हुन्छ !

स्मरण रहोस्, अन्तर्राष्ट्रिय सूचक र सर्वेक्षणहरूले हामीलाई सबैभन्दा भ्रष्ट देखाएका छन् । बाहिर त प्रतिवाद गरौँला, आँखा चिम्लेर आफैलाई हेऱ्यौँ भने सत्य के हो थाहा हुन्छ ! हैन र ? -मनिष रमण साह, युवा व्यवसाय, जनकपुरधाम

Facebook Comments Box
न्यूज आज