कांग्रेसकै नेताले जनकपुरमा आएर भने, ‘अब कांग्रेसलाई छुट छैन’
जनकपुरधाम । नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मिन विश्वकर्माले उपभोक्ता शिक्षा तथा उत्पादक एवम् उद्योगीको साथमा पार्टीलाई उभ्याउनुपर्ने बताएका छन् ।
उपभोक्तावादी संस्कृतिलाई सुधार गर्दै उत्पादनमा वृद्धि ल्याउन पार्टीले भूइँतहमा पुगेर काम गर्नुपर्ने बताउँदै पूर्व मन्त्री विश्वकर्माले यसका लागि अभियानै चलाउनुपर्ने बताए ।
‘हामीले उपभोक्ताहितको कुरा गर्दैगर्दा उत्पादक तथा व्यवसायीको समस्यालाई पनि सम्बोधन हुनेगरी पार्टीले नीति लिएर अघि बढ्न आवश्यक छ’ उनले भने ।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख समेत रहेका विश्वकर्माले सोमबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसलाई अब जनतासँग बोलेको कुरा पुर्याउनुको विकल्प नरहेको जिकिर गरे ।
विगतमा पार्टीको तर्फबाट भएका कमी कमजोरीलाई सच्याउँदै अबका दिनमा जनताको हितमा समर्पित भएर काम गर्नुपर्ने उनको भनाई थियो ।
‘अब नेपाली कांग्रेससँग बोलेको कुरा पुर्याउनु बाहेक अरु उपाय छैन । अब हामीसँग भाग्ने ठाउँ छैन । अब हामीसँग भाग्ने उपाय पनि छैन । अब हामीसँग उम्किने उपाय छैन’ नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘त्यसैले म साथीहरु (कांग्रेस कार्यकर्ता) लाई भन्न चाहन्छु, सबै क्षेत्रबाट जनताको हितमा जुटौं । उत्पादकसँग कांग्रेस अभियान चल्नुपर्छ । उपभोक्तासँग मात्रै होइन । उखु उत्पादक किसान, दूध र तरकारी उत्पादन गर्ने किसानको पक्षमा अनि बजारमा ठगिने उपभोक्ताको हितमा पनि कांग्रेस उभिनुपर्छ ।’
नेपाली कांग्रेसको आपुर्ती तथा उपभोक्ता विभागले सोमबार जनकपुरमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । आपुर्तीमा सहजता र उपभोक्ताको हितमा स्थानीय तहसम्मै अभियान पुर्याउनेगरी काम गर्नुपर्ने विभाग प्रमुख गुरु बरालले बताए ।
कार्यक्रममा प्रेमलाल महर्जनले आपुर्ती तथा उपभोक्ता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । पार्टीको आपुर्ती तथा उपभोक्ता विभाग सदस्य किरण कुमार भगतको सभापतित्वमा आयोजित कार्यक्रममा पार्टीका प्रदेश सभापति एवम् पूर्व मन्त्री कृष्ण यादव, प्रदेश सांसदहरु अञ्जना पण्डित, सुमिन्त्रा महरा, संविधानसभा सदस्य मुख्तार अहमद लगायत पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो ।