जउवा संघ निर्वाचनः मतपत्र मिलाउँदै बित्यो रात

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न भएर शनिबार मध्यराति करिब १२ बजेदेखि सुरु भएको मतपत्र मिलाउने कार्य बिहान करिब पौने सात बजे सम्पन्न भएको छ ।

शनिबार साँझ करिब ९ बजेदेखि मतगणना गर्ने पूर्व घोषणा गरेको निर्वाचन समितिले प्रतिकुल मौसमको कारण निर्धारित समयमा मतदान प्रक्रिया सम्पन्न गर्न सकेको थिएन । मतदानको समयावधि लम्बिएपछि मतगणनाको समय तालिका पनि अनिश्चित भएको थियो ।

१० वटा मतपेटिका प्रयोग गरिएकोमा सबै पदाधिकारी र कार्यकारी समिति सदस्यको लागि जारी भएको मतपत्र मिसिएकाले गणना गर्न सहज होस् भनेर रातभर सबै मतपेटिका खोलेर मतपत्रहरु मिलाउने काम गरिएको निर्वाचन अधिकृत ललित साहले जानकारी दिए ।

आइतबार बिहान करिब साढे ७ बजेसम्म मतगणना सुरु हुने उनले जानकारी दिए । मतपत्र मिलाउने काम भइसकेकाले अब मतगणना कार्य सहज रुपमा छिटो छिटो सकिने उनले विश्वास व्यक्त गरे ।

Facebook Comments Box
सुरेशकुमार यादव