शक्ति प्रदर्शनमा व्यापारी नेता

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि भोली (शनिबार) हुन लागेको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरुले मतदाता आकर्षित गर्न अन्तिम प्रयासमा लागेका छन् ।

संघको अध्यक्ष पदका लागि तीन जना उम्मेदवार मैदानमा छन् । तीनैजनाले शुक्रबार जनकपुरधाम बजार क्षेत्रमा शक्ति प्रदर्शन गरे । जितेन्द्र प्रसाद साह, मनिष रमण साह र सुरेन्द्र भण्डारी चुनावी मैदानमा छन् ।

उम्मेदवारीको आधारमा दावेदारी उनीहरु सबैको छ । तर, बजारमा सुनिइरहेको चर्चालाई आधार मानेर विश्लेषण गर्ने हो भने क्रम संख्या २ भएका मनिष र क्रम संख्या ३ भएका सुरेन्द्रबीच मुख्य प्रतिस्पर्धा रहेको अनुमान लगाउन सकिन्छ ।

प्रादेशिक राजधानी शहर भएको आधारमा जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन प्रदेशभर मात्रै नभएर संघीय राजधानीको दृष्टिमा पनि परेको देखिन्छ । यो चुनावले चयन गर्ने नेतृत्वसँग जनकपुरधामको उद्योग र व्यापार क्षेत्रको प्रबद्र्धन हुनुपर्ने सबैको अपेक्षा स्वभाविक हो ।

विषय सकारात्मक हो कि नकारात्मक भन्ने सन्दर्भमा पाठक वर्गले नै विश्लेषण गरुन् । रोचक विषय के देखिदैछ भने शिक्षाको मन्दिर रुपी कलेजहरुमा हुने विद्यार्थीको चुनावमा पनि दलीय प्रतिस्पर्धा हुन्छ । तर, जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचनमा अहिलेसम्म दल हावी हुन पाएको छैन ।

पर्दाभित्र तीन जना उम्मेदवार दुई फरक दलका प्रतिनिधि पात्र हुन् । एउटा दलले आफ्ना दुई मध्ये एकलाई औपचारिक उम्मेदवार रहेको भनेर अनौपचारिक घोषणा पनि गरेको छ । त्यस आधारमा नेपाली कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हो भनेर अथ्र्याउन सकिन्छ । तर, सतहमा दलको नाम आउन सकेको छैन, एक किसिमले यो सकारात्मक पक्ष हुनुपर्ने हो ।

उद्योगी, व्यवसायीहरुले आफ्ना नेता दललाई होइन, व्यक्ति र व्यक्तित्वलाई चुन्न पाउनुपर्ने हो । दल ओझेलमा परेपछि मतदाताको नजरमा सक्षम व्यक्तित्वले नेतृत्वको अवसर पाउने हो, मतदाता नै प्रभावमा नपरे । तर, जनकपुरधामका उद्योगी व्यवसायीहरुले यो अवसरलाई कसरी उपयोग गर्ने हो त्यो हेर्न बाँकी छ ।

अन्त्यमा को कुन दलका र कुन जातिका हुन् भन्दा पनि कसले जनकपुरधामको व्यापार क्षेत्रलाई मर्यादित बनाउँदै विकासको बाटोमा अग्रसर गराउन सक्छन्, ती व्यक्तिले व्यापारीको नेता चुनिएर माला पहिरिउन्, शुभकामना ।

Facebook Comments Box
सुरेशकुमार यादव