माय–बाप खोज्दै प्रादेशिक अस्पताल

जनकपुरधाम । जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा डाक्टर र नर्सले वास्ता नगरेको बिरामीको गुनासो र यस्ता कारणले विवाद उत्पन्न नहुने दिन सायदै होला ∕ यसै सिलसिलामा भदौ २३ गते न्यूज आजको उपस्थिति हुन्छ, प्रादेशिक अस्पतालको आकष्मिक वार्डमा । उक्त वार्डका इन्चार्ज उज्ज्वल झा भन्छन्, ‘अस्पतालको नाम फेरियो, बिरामी संख्या पनि बढ्यो । तर, सोही अनुपातमा जनशक्ति नथपिदा समस्या बढेको बढ्यै छ ।’

न्यूज आजले अस्पतालको समस्या समाधानको उपायमा कहाँ गाँठो परेको रहेछ भनेर खोज्ने चेष्टा गर्यो । अगाडी बढ्दै जाँदा वर्षौ होइन, दशकौ अघि तय गरिएको दरबन्दी जति पनि जनशक्ति उपलब्ध नरहेको देखियो ।

अस्पतालको आकारसँगै बिरामीको संख्या थपिएपछि सोही अनुरुप उपचारका लागि आवश्यक जनशक्ति थपिनुपर्ने हो ।

जनशक्ति थप्न अस्पतालले आफ्नो माथिल्लो निकायको माध्यमले मधेश प्रदेश लोकसेवा आयोगसँग अपुग जनशक्ति माग गर्नुपर्ने हो । यसका लागि जम्मा एक हप्ता म्याद बाँकी छ । अर्थात्, भदौ मसान्तभित्र जनशक्ति माग गरिसक्नुपर्ने हो । तर, यो अस्पतालले अहिले पनि अभिभावक पर्खाइमै बसिरहेको छ ।

करिब दुई महिना अगाडी अस्पतालका निर्देशक डा. रामनरेश पण्डितलाई संघीय सरकारले फिर्ता बोलायो । डा. पण्डित संघीय सरकारको मातहतको निकायमा हाजिर भए लगत्तै प्रादेशिक अस्पतालको निर्देशक पद रिक्त हुन पुग्यो । करिब दुई महिना बितिसक्दा न त नयाँ निर्देशक चयन भएको छ न उक्त प्रक्रिया नै अघि बढ्यो ।

प्रादेशिक अस्पताल अस्तव्यस्त छ । चिकित्सा तथा प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुले दुई महिनादेखिको तलब नपाउँदा मनोबल खस्केको देखिन्छ । निर्देशक नभएकै कारण उनीहरुले तलब खान नपाएको गुनासो न्यूज आजसमक्ष व्यक्त गरे ।

अस्पताललाई निर्देशक दिन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले नाम सिफारिस गर्नुपर्ने हो । उक्त सिफारिसको आधारमा उपयुक्त व्यक्तित्वलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीले सहकुलपतिको हैसियतले निर्देशक नियुक्त गर्ने हो । मन्त्री शत्रुधन प्रसाद सिंहले प्रतिष्ठानबाट सिफारिस पर्खेर बसिरहेको बताउँछन् ।

Facebook Comments Box
सुरेशकुमार यादव