चन्द्रमालाई अर्घ दिई मनाइयो चौठचन्द

जनकपुरधाम । चन्द्रमालाई अर्घ दिई चौठचन्द अर्थात गणेश चतुर्थी मनाइएको छ । शुक्रबार श्रद्धा एवं भक्तिपूर्वक यो मनाइएको छ । यस पर्वमा गणेश र चन्द्रमाको विशेष पूजा गरिन्छ ।

दिनभर उपवास बसेकी व्रतालु महिलाहरु सॉझ चन्द्रमा र गणेशलाई अर्घ दिई अर्थात पूजा पश्च्यात अन्न जल ग्रहण गर्छिन् । भाद्र शुक्ल चतुर्थीको दिन चन्द्रमालाई खाली हात दर्शन गर्न नहुने जनविश्वास छ ।

भगवान कृष्णले यस दिन चन्द्रमाको खाली हात दर्शन गरेको कारण झुठो कलंक लागेको भनिएको छ । त्यहाँ वर्णन भए अनुसार–एकपटक चन्द्रमाले गणेशको ठुलो भुँडी तथा हात्तिको टाउको देखेर खिल्ली उडाएका थिए । प्रतिउत्तरमा गणेशले चन्द्रमालाई देख्दा कलंक लाग्ने श्राप दिएका थिए । श्राप मुक्तिका लागि चन्द्रमाले गणेशको पूजा–आरधना गरेका थिए । सोही दिनदेखि चन्द्रमा तथा गणेशको पूजन सुरु भएको हो ।

पर्वको अवसरमा श्रद्धालुहरु फल, सुपारी, कॉक्रो, पानको पात तथा मिठाई हातमा लिएर दर्शन गर्छन । यस पर्वमा दलपूरी,खीर,दही,तीलको चटनी, ओलको तरकारी पकाई सपरिवार संगै खाने चलन छ । आफन्तहरुलाई निम्तो दिई खुवाईन्छ ।

Facebook Comments Box
न्यूज आज