यो लेख मेसिनले होइन, मैले आफै लेखेको !
साथीहरूको एउटा हिँडाइ समूहको अगुवाइ गरेको एकैछिनमा म झल्याँस्स भएँ, यो त नेपाल होइन नि!
एक्काइस तले होटलको एउटा रेस्टुरेन्टबाट निस्कँदा म कति न जान्ने टोपलिएर ‘लौ साथीहरू हिँडेर झरौं’ भन्दै ओराल्दै थिएँ।
सिसै सिसा र स्टिलै स्टिलको सहर के, देशको कुनभन्दा कुन अग्ला, कुनभन्दा कुन भव्य, आँखै तिल्मिलाउने बहुतले भवनहरूको मरिना बेमा।
हो, सिंगापुर।
सिसिटिभीका आँखाले नहेर्ने कुनै कुना हुँदैन झैं लाग्छ। भित्ताका पनि कान हुन्छन् भन्ने चरितार्थ गर्न सूक्ष्म चिप्स जोडिएका यन्त्रहरू मानव आकृति लिएर उभिरहेका हुन सक्छन्। हरदम प्रविधिले निगरानी गरिरहने ठाउँमै हामी अक्करमा फसिसकेका थियौं।
न कतै मानिस थिए, न कतै मेसिन चिनिए।
त्यही बिहान त हो, नेपालबाट सबेरै सिंगापुर टेक्दा विमानस्थल सुनसान लागेको। काठमाडौंबाट बिदा हुँदा ओहो कर्मचारी र सुरक्षाकर्मीको माछा बजार!
नेपालमा मानिस धेरै; त्यही भएर रोजगारी विस्तार गर्दा गर्दा, विमानस्थलमा आँसु पुछ्न उभिएका आफन्तजनको भीड नियन्त्रण गर्न पनि राष्ट्रिय ढुकुटी खर्च गर्नुपरेको छ। सिंगापुरमा मेसिन धेरै; त्यही भएर विमानस्थलमा विदेशीलाई स्वागत गर्न, यात्रारत् स्वदेशीलाई घर भित्र्याउन प्रविधिलाई अह्राउनुपरेको छ।
अध्यागमनमा कति झ्याउ हुन्थ्यो केरकार गर्ने मानिसका आँखा र आवाज झेल्न। आज त ठिंग उभियो, पासपोर्टको आफ्नो तस्बिर अंकित पन्ना घुसाइदियो, बस्!
अँ, उसले आँखाको नानीको तस्बिर खिचेर रूजुझैं गर्छ। र, सानो ढोका आफै खोलिदिन्छ। ढोका घर्याक्क खुल्छ र तपाईं निस्केपछि बन्द हुन्छ। आफै। स्वचालित। आवाज आउँदैन।
हल्ला त मानिसले पो गर्ने हो!
मानिसभन्दा मेसिन धेरै भएका सहरतिरको यात्रामा भर्खर देखेको वास्तविक हो कि कृत्रिम; केही बेर के हो के हो हुनसक्छ। मानिसले सञ्चालन गर्ने तौरतरिकाबारे हामी अवगत छौं, मेसिन आफै सञ्चालित हुने भएपछि हामीलाई यो ठूलै संक्रमणकाल लाग्नु स्वाभाविक हो।
मेसिन आफै सञ्चालित हुने भएपछि, यो स्वचालित समयमा कतै मानिस नै नचाहिने त हुने होइन?
पृथ्वीका लागि मानिस चाहिन्छ कि चाहिन्न भन्ने प्रश्न त साश्वत छँदैछ। प्रकृति ध्वस्त पार्न उद्यत आजको विकसित मानिस त चाहिन्छ नै किन र भन्ने प्रश्नको गुजुल्टोभित्र अब जबाफ फुकाउने हैसियत मानिसको हातबाट मेसिनमा पुग्न लागेजस्तो छ।
मानिसले अन्कनाउँदै, कपाल कन्याउँदै, एकछिन है भन्दै गम खाँदै, भोलि आउनुस् भनेर फर्काउँदै, आलटाल गर्नुपर्ने ठाउँमा मेसिन हाजिर भएका छन्। मेसिनले आँखाका परेलाभन्दा छिटो, आँखा झिम्क्याउन नभ्याउँदै, हामीले सोधेको जबाफ भलिभाँती पुर्याएर सविस्तार वर्णन गरी भ्याउँछ।
कार्यदक्षता खोज्ने सरकार, मुनाफा हेर्ने कम्पनीलाई खुँदो पल्टेन त?
विमानस्थलबाट सहरतिर जाने बेला म त्यतिखेर ढुक्क भएको थिएँ, जब मैले ट्याक्सी चालक मानिस नै हुन् भन्ने पक्का गरेँ। मेसिनमा पूरै भर गर्ने इन्द्रियको कहाँ विकास भएको छ र? अनि, मान्छेसँगको विश्वास मरेको पनि कहाँ छ र?
यहाँ प्रश्न; मेसिन हामीभन्दा बढी काम गर्न, सित्तैमा खट्न, अहोरात्र डट्न, हामीभन्दा अझ प्रभावकारी, प्रस्ट, निर्दिष्ट, यथेष्ट भएर आएकाले; अब के भन्ने हो। उसले हरेक काम अत्यन्त छिटो, उत्तिन्खेरै फत्ते गरिदिन्छ। कार बनाउन होस् कि चलाउन, भारी बोक्न होस् या ओसार्न, लुगा काट्न होस् कि सिउन, एक्सरे गर्न होस् या एमआरआई गर्न, समाचार लेख्न मात्र होइन, पढ्न पनि थालिसक्यो मेसिनले। गीत लेख्न, संगीतबद्ध गर्न, गाउन, समाचारको के कुरा, उपन्यास नै फररर …!
अर्को कुरा, यसरी लेख न भन्यो, कति वफादार! वफादार पनि बुद्धिमान पनि!
यो बुद्धिमान मेसिनको पारा के हो; हामी कता जाँदैछौं, कहाँ पुगेका छौं र यसलाई कसरी कज्याउने वा यसैले हामीलाई कज्याउने हो भन्ने छलफलहरू चलिरहेको सन्दर्भमा हामी पनि छलफल गर्नै भनेर भेला भएका छौं।
एसियन जर्नालिजम् फेलोसिप (एजेएफ) का १५ वर्षदेखिका विभिन्न देशका फेलोलाई पुनर्मिलन गराउने निहुँमा यो बुद्धिमान मेसिनलाई पत्रकारितामा कसरी प्रयोग बढाउने भन्ने विमर्श सम्मेलनको पहिलो साँझ आयोजक नेसनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ पोलिसी रिसर्च र तामासेक फाउन्डेसनले दिएको स्वागत रात्रिभोजमा भर्खर हामी सरिक भएका छौं।
आफू बसेको होटलबाट आधा घन्टा बस यात्रापछि रात्रिभोजमा हामी आफ्ना साथीहरू भेटेर अंकमाल गर्छौं, सन्चो–बिसन्चो, खैखबर लिन्छौं–दिन्छौं। पत्रकारितामै टिकिरहेका छौं कि अरू इलम गर्दैछौं भलाकुसारी गर्छौं। हातेफोनमा थरिथरिका मुद्रा, हाउभाउ, प्रसन्नता, भावनाजनित तस्बिरहरू खिचेर सञ्चय गर्छौं। यिनै तस्बिर, तथ्य, टिप्पणी, समय, स्थान, ध्वनि सबै खुराक बनेर कतै अपलोड भएपछि बुद्धिमान मेसिनले पढ्छ, गुन्छ, साँच्छ, प्रशोधन गर्छ, साझा गर्छ! यस्तै कच्चापदार्थलाई जोडघटाउ गरी बृहत् प्रणालीभित्र विभिन्न परिपाक तत्क्षण तयारी अवस्थामा राखिदिन्छ। कति अहिलेकै भर्जनले प्रयोग गर्छन्, कति भविष्यका नयाँभन्दा नयाँ संस्करणहरूले!
क्यामराको एउटै क्लिकले तत्काल संसारको ध्यानाकर्षण गर्न पनि सक्छ वा मेसिनले एउटा विष्फोटक वाक्य लेखिदियो भने उत्तिन्खेरै हाहाकार, हारालुछ, हाहू हुन पनि सक्छ। मानिसको रूचि, चाख, रोजाइको परख गरिरहेको मेसिनले कसैलाई रूखकटहरको तस्बिर पठाइदिएको हुनसक्छ, कसैलाई भुइँकटहरको!
‘उच्च जोखिम’ र ‘तीव्र परिवर्तन’ को विश्वमा हामीलाई झन् सुसूचित हुनु आवश्यक भएको छ भन्ने लन्डन स्कुल अफ इकोनोमिक्सको पत्रकारिताका प्राध्यापक चार्ली बेकेट विशेष वक्ताका रूपमा सम्मेलनमा प्रस्तुत भएका छन्, जसले ‘जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स’ भनिने यो कुशाग्र मेसिनको प्रविधि पत्रकारले अझ अख्तियार गर्नुपर्ने पैरवी गर्छन्।
‘प्रविधि असलले प्रयोग नगरे खराबले दुरूपयोग गरिदिन्छन्,’ उनी भन्दै छन्।
तपाईंले पढिरहेका यी हरफ मेसिनले लेखेका हुन् कि मानिसले भन्नेमा भोलि खासै सरोकार नहुने भएकाले ‘एआई’ प्रयोग बढाउनेबारे उनले विश्वविद्यालयमार्फत् विश्वका विभिन्न सञ्चारमाध्यमसँग गरिरहेको अनुसन्धान सुनाउँदै छन्। ‘जर्नालिजम् एआई’ भनिएको उनको परियोजना बुद्धिमान वा कुशाग्र मेसिनलाई कसरी जिम्मेवार रूपमा पत्रकारितामा प्रयोग गर्ने भएकाले उनी भविष्यप्रति उत्साही देखिन्छन्।
विश्वभरि पत्रकारिताको साख घट्दो छ। एसियामै हेर्ने हो भने लोकतन्त्रको स्तर गिर्दो छ। यस्तोमा ‘नयाँ पत्रकार’ का रूपमा आएको यो बुद्धिमान मेसिनलाई सहयोगी पत्रकार मात्र होइन, सञ्चारमाध्यमका अन्य विधामा पनि उपयोगी भएकाले भरपूर प्रयोग गर्न भनिएको छ। पत्रकारिता पढ्ने विद्यार्थीहरूको संख्यासमेत घटिरहेका बेला यो ‘सहयोगी पत्रकार’ ले कसरी बजारलाई सेवा देला आँखाहरू चनाखा हुँदै गएका छन्।
अहिले सहयोगी बनेर समाचार कक्षमा प्रवेश गर्ने यो ‘नयाँ पत्रकार’ ले भोलि कतै समाचार र विचार नै नियन्त्रण गर्ने त होइन? यो त एउटा सफ्टवेयर न हो! मानव पत्रकारलाई कसरी विस्थापित गरिदिन्छ भन्दै थिए बेकेट, एउटा प्रश्न सुनेर उनले प्रश्नकर्ता पत्रकारतिर आँखा अड्याए। यो प्रविधिलाई पनि कर्पोरेट जगतले प्रभाव पारेर समाचारलाई नै झन् प्रयोग गर्ने त होइन भन्ने प्रश्न थियो।
‘मलाई यो प्रश्न मन पर्यो,’ बेकेटले भने, ‘यो प्रश्न गरिरहनुहोस्!’
प्रश्न गर्ने पत्रकारिताको सामर्थ्य पनि अब परम्परागत प्रश्न मानिने र बुद्धिमान मेसिनमार्फत् मानवीय भूमिका सिद्धिने त होइन भन्ने प्रश्न तेर्सिसकेको छ। प्रश्नहरू त कति छन् नि!
रोजगारीमा असर पर्न थालिसकेको छ। यन्त्रवत् मात्र होइन, सिर्जनात्मक कामका अवसरसमेत खोसिन थालेका छन्। बेरोजगारीसँगै बढ्ने अव्यवस्थाले राजनीतिमा के दखल पार्छ, असमानताको दर प्रविधिले कसरी घटाउला, सामाजिक सञ्जालकै घृणा, द्वैष र भ्रामक सन्देश ‘एआई’ को तीक्ष्ण क्षमताले झन् बढाउने त होइन?
कम्प्युटरको आविष्कारसँगै सुरू भएको एआईले क्रमिक विकासबाट दुई वर्षयता ‘लार्ज ल्याङ्वेज मोडल’ मा आधारित च्याट जिपिटीपछि फड्को नै हानेको छ। जान्नेहरूका अनुसार, यो त सुरूआत मात्र हो!
कति यसलाई आधुनिक पुँजीवादको गहना मान्छन्, मानिसलाई मेसिनझैं दलाउने कामबाट मुक्तिको माध्यम मान्छन्। विश्व बहसको एउटा वर्तमान विषय बनिरहेको यो कुशाग्र मेसिनबारे विचारहरू बाझिएका छन्, मतहरू बाँडिएका छन्, माझिन बाँकी छ। यसबारे किताबहरू नै, जस्तो मैले देखेको अर्चड रोडस्थित किताब पसल ‘किनोकुनिया’ को एउटा आकर्षणस्थलका तख्ता नै भरिएका छन्।
युभल नोहा हरारीको आसन्न ‘नेक्सस’ का लागि अब कति तख्ता मिलाइने हुन्, जो निरन्तर यो प्रविधिको निगरानी र जबाफदेहिताको प्रश्न गर्छन्। यसको नियमन गर्न विश्व संयन्त्र बनाउन सके मानव सभ्यता जोगिन सक्ने भविष्यवाणी गर्दैछन् यी इतिहासकार।
हाम्रै संसारका अर्बौं तथ्य–तथ्यांक जम्मा गरेर हामीलाई नै चकित पार्ने गरी बयान गर्ने, व्याख्या गर्ने, विश्लेषण गर्ने, विचार दिने यो कुशाग्र मेसिनलाई हरारी ‘एलियन’ भन्छन्; अर्कै ग्रहको, अज्ञात, अपरिचित जन्तुजस्तै।
जबकि, यो प्रविधिको विकास मानिसकै विचारस्थल मस्तिष्क कसरी सञ्चालन हुन्छ भन्ने स्नायू विज्ञानको परख गरेर सुरू गरिएको थियो। अब त आफै सोच्ने र निर्णय दिने मात्र होइन, आफ्नो विकास आफै गर्दै जानसक्ने यो ‘अज्ञात जन्तु’ को भरमा परियो र दुरूपयोगको सम्भावना सोच्न सकिएन भने भोलि विश्वमा राजनीतिक अवस्था के होला भन्ने प्रश्न उनी नयाँ पुस्तकमा गर्दै छन्। ‘मानव सभ्यताले एक जना मानव राष्ट्रपति चुन्ने प्रक्रिया त रहिरहला, तर त्यो समारोह सुनसान हुने त छैन?’
अर्काथरी विचारकहरू भने यस्तो प्रविधि विकासमा भाँजो हाल्नु र यसका सम्भावना नियन्त्रण गर्न खोज्नु मानव सभ्यता प्रतिकूलकै आचरण हो भन्छन्। सभ्यतालाई उन्नत बनाउने प्रविधि यसअघि हरेकपल्ट इतिहासमा शंका गरिएका थिए भन्ने उनीहरूका तर्क छन्।
प्राध्यापक बेकेट पत्रकारका लागि प्रविधि प्रयोग गर्दा पाठकसामु पारदर्शिता स्थापित गर्न जोड दिन्छन्। यो समाचार मेसिनले तयार गरेको हो, यो सामग्रीमा यसरी यसरी मेसिन प्रयोग भएको छ भन्ने खुलाउनुपर्छ भन्ठान्छन्।
‘यो प्रविधि निकै शक्तिशाली छ,’ उनी भन्छन्, ‘त्यही कारण सावधानी पुर्याउनुहोला!’
प्रविधिको अनुसन्धान र विकास गरिरहेका कम्पनीहरूका मुनाफामुखी ध्येयबाट सरकारहरूले अब कसरी आफ्नो हित हेर्छन् कठोर प्रश्न छ। सिंगापुरले सञ्चार मन्त्रालयको नाम फेरेर डिजिटल डेभलपमेन्ट राख्नुका साथै बजेट एआईमा ह्वात्तै बढाएको छ। एआईलाई सार्वजनिक हितको साधन स्थापित गर्ने भन्दैछन्। उसो त एक जना पत्रकारले एआईमार्फत् ‘डिजिटल डिक्टेटरसिप’ लादिने सम्भावनाको प्रश्न गर्दा एक जना सिंगापुरे अधिकारीको जबाफ थियो, ‘तपाईंको हातमा भएको मोबाइलको पर्दामा कुन तस्बिर राख्ने कसले निर्णय गर्छ? सरकारले कि कम्पनीले?’
हातमा भएको मोबाइलबाट हिँड्ने सिँढी पत्ता लगाउने सुद्धि हामीलाई त्यति बेला किन भएन म छक्क पर्छु। जबकि, मेरो पछि पछि आएका हाम्रो ब्याचका साथीहरू प्रविधिमा मभन्दा कता कता निपुण थिए। दुई जना फिलिपिनो, दुई जना इन्डोनेसियाली, एक जना पाकिस्तानी र एक जना त स्वयं सिंगापुरे पत्रकार नै थिइन्।
जब समूहलाई डोर्याउने म नै रोकिएँ, उनीहरू हस्याङफस्याङ गर्दै एकैठाउँ उभिएर भन्न थाले, ‘हा, फेरि शौचालय ल्याइपुर्यायौ!’
झर्ने सिँढी पत्ता लगाउन लिफ्ट छाडेर हिँडेका हामीलाई अब बस छुट्ला, आफ्नो होटल फर्किन ट्याक्सी लिनुपर्ला भन्ने चिन्ता लाग्न थाल्यो। मैले हिम्मत हारेको देखाउनुभएन। त्यस्तो काइदाको रेस्टुरेन्टमा टन्न खाएर आइएको छ, जसका हरिया सागसब्जी र जडिबुटीहरू त्यसकै आडमा उमार्ने भनेर लोकप्रिय सहरी खेती अर्थात् कौसी खेतीका ताजा परिकार भर्खर चाखेर चनाखा भएका छौं। होटल हो कि बगैंचा झुक्किने गरी वनस्पतिहरू भरिभराउ छन्। आकाशसम्मै ढाक्लान् झैं हुर्किएका पनि छन्। हामी भने तल भुइँ टेक्न पाइरहेका छैनौं।
एउटा कुना पुगेर ढोका खोल्न खोज्यो, चट्टानझैं जब्बर बनिदिन्छ। अर्को खोल्न खोज्यो, खुल्छ तर पसल रहेछ। बत्ती बलेको छ, मानिस कतै देखिन्न। स्वचालित त होइन? साथीहरू हामी कतै दौडिएको, कतै भागिरहेजस्तो देखिने भिडिओ खिच्छन्।
‘तिमीलाई थाहा छ?’ सिंगापुरेले मलाई पाखुरा च्याप्प समात्दै भनिन्, ‘हामी तल झरिरहेका छैनौं, एउटै तला रिँगिरहेका छौं।’
‘हिँड्ने कुरामा नारायणले हामीलाई सधैं फसाउँछ,’ फिलिपिनो साथीले भनिन्।
‘र, हामी हरेकपल्ट फस्छौं,’ इन्डोनेसियालीले भनिन्।
हामी फुत्त निस्केर माथिल्लो तल्लामा उक्लियौं र हाम्रा साथीहरूको ठूलो बगालमा मिसियौं। तैं चुप मैं चुप लाग्यौं। मूर्ख देखिन कसलाई मन लाग्छ? त्यो फुत्त निस्कने बेला हामीलाई केले सहयोग गर्यो? मानिसले कि मेसिनले?
मलाई लाग्छ, मानिसको भित्री मनसायमा बाँच्ने मन्त्र छ।
हामी खास फसेको सोध्ने मानिस कोही नदेखेर हो। कुनै मेसिन नचिनेर पनि हो। मेसिन आफै कसैको उद्धार गर्न आउँदैन। जबाफ भने दिन्छ। उसलाई सोध्नु चाहिँ पर्छ।
मैले यो लेख टुंग्याउनुअघि च्याट जिपिटीलाई सिंगापुरको विकासबारे श्रवण मुकारूको शैलीमा एउटा कविता लेख्न भनेँ। उसले लेखेका हरफहरू —
यो सहर
जहाँ सपनाहरूलाई
बाँधिदिन्छन् तारहरूको धागोले
जहाँ आकाश चुम्न
लिफ्टको सहारा लिन्छ।
विज्ञानको वरिपरि
घुम्छ समय
सहरले बुनेको नयाँ जालमा
मान्छेहरू हराउँछन्,
तर कहाँ हराउँछ
बोली नपाएका सपना !
सेतोपाटी
Author Profile
Latest entries
- Main Newsमंसिर १८, २०८१तत्वज्ञानी ‘भ्रूण’
- Main Newsमंसिर १८, २०८१बजेन हरण र घण्टी, मधेशमा कांग्रेसै बलियो
- Main Newsमंसिर १८, २०८१तेस्रो प्रयासमा ढल्यो माओवादी किल्ला, जित्यो कांग्रेस
- Main Newsमंसिर १८, २०८१प्रधानमन्त्री ओलीले चीनसँग के के गरे सम्झौता ?