स्वास्थ्य मन्त्रालयमा बेथिति, डेढमहिनामा पनि खुलेन खाता
कोलेनिकाले भन्छः अघिल्लो सचिवले रमाना लिएर गएको पत्र देउ ।
मन्त्रालयले भन्छः त्यो आवश्यक छैन ।
१२ भदौ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा चरम बेथिति देखिएको छ ।
प्रदेशभर स्थानीय तहका स्वास्थ्य संस्थाहरुलाई व्यवस्थापन गर्दै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने जिम्मेवारी यो मन्त्रालयको छ । तर, मन्त्रालय आफै बेथितिको दलदलमा फँसेको देखिन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रदेश सचिवको रुपमा डा. संजय ठाकुर गत असार ४ गते आइपुगे । उनले संघीय सरकारले तोके बमोजिम मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रदेश सचिवको हैसियतले हाजिर भई कामकाज सम्हाल्नुपर्ने थियो । सोही बमोजिम प्रक्रिया पछ्याउँदै डा. ठाकुर असार १२ गते मन्त्रालयमा हाजिर हुन पुगे । तर, उनलाई त्यहाँ हाजिर हुनै दिइएन । अनेक बितण्डा मचाइयो ।
‘मैले कतै काम नपाएर यो मन्त्रालयमा थन्किन आएको कर्मचारी होइन म । मलाई काम गर्न मेरो विभागीय निकायले पठाएको ठाउँमा हाजिरी नै हुन नदिन अनेक प्रपञ्च रचियो । भन्न पनि लाज लाग्ने हर्कतहरु मैले हाजिर हुन आएकै दिन मन्त्रालयमा देख्नुपरेको थियो’ डा. ठाकुरले न्यूजआजसँग भने, ‘मलाई तोकिएको ठाउँमा बसेर काम गर्न नदिइएपछि कानुनलाई टेकेरै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा हाजिर भएँ ।’
तलब खाएपछि काममा खट्नुपर्ने नैतिक दायित्व निर्वाह गर्दै डा. ठाकुरले काम माग्दै प्रमुख सचिव र विभागीय मन्त्रीसँग बारम्बार छलफल गरेको बताउँछन् । कुनै सीप नलागेपछि बाध्य भएर सर्वोच्च अदालतको ढोकामा पुगेका उनलाई तोकिएको काम दिन आदेश भएपछि असार २७ गते मन्त्रालयमा हाजिर भए ।
‘जसरी भएपनि मन्त्रालयमा हाजिर भइसकेपछि ‘डे वान’ बाट मैले आफ्नो जिम्मेवारी सम्हाल्नुपर्ने थियो’ डा. ठाकुरले न्यूजआजसँगको कुराकानीमा भने ।
‘खातापाता सञ्चालन गर्न खोजेपछि प्रमुख सचिवज्यूले असार मसान्तसम्म पुरानै सचिव (डा. प्रमोद यादव) लाई काम गर्न दिनु भनेपछि म दुई–चार दिन त हो भनेर चुप लागेर बसें । साउन १ गते नियमानुसार खाता सञ्चालन गर्न पाउँ भनि कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) पुगेँ । आज करिब डेढ महिना बित्न लाग्दा एकदिनमै हुने खाता सञ्चालनसम्म गराउन सकेको छैन मैले’ उनले थपे ।
‘स्वास्थ्य मन्त्रालय जस्तो संवेदनशिल निकायको खाता सञ्चालन प्रक्रिया किन ओझेलमा पर्यो ?’ न्यूजआजको जिज्ञासामा कोलेनिका प्रमुख डा. विरेन्द्र मिश्रले खाता सञ्चालन प्रक्रिया चलिरहेको प्रतिक्रिया दिए ।
यो प्रक्रिया कति लामो हुन्छ भन्ने अर्को प्रश्नमा डा. मिश्र भन्छन्, ‘मन्त्रालयभित्र के खिचडी पाकिरहेको छ मलाई थाहा भएन । तर, मैले प्रक्रिया पुरा गर्नका लागि एउटा डकुमेन्ट मागेको छु । त्यो आउने बित्तिकै खाता सञ्चालन हुन्छ ।’
न्यूजआजले मन्त्रालयका सचिव डा. ठाकुरलाई कोलेनिकाले मागेको कागजात उपलब्ध गराउन किन ढिलाई भएको भन्ने सोध्यो । उनले आवश्यक नै नभएको कागजातहरु मागेर कोलेनिकाले आफुलाई अनाहक परेशान गरेको जवाफ दिए ।
के हो त्यो डकुमेन्ट ?
कोलेनिकाले भन्छः अघिल्लो सचिवले रमाना लिएर गएको पत्र देउ ।
मन्त्रालयले भन्छः त्यो आवश्यक छैन ।