झालाई गाली गर्ने सिडिओलाई कारबाही माग

१० भदौ । राष्ट्रिय मुक्ति क्रान्तिले आफ्ना सदस्य राजिव झालाई गाली गलौज गरेको भन्दै धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियालाई कारबाहीको माग गरेको छ ।

रामुक्रा संयोजक राजेन्द्र महतोले प्रेस विज्ञप्ती जारी गर्दै झालाई गाली गर्ने सिडिओलाई कारबाही गर्न माग गरेका हुन् ।

धनुषा जिल्ला निवासी संजिव झाको काम नगरी मालपोत कार्यालय प्रमुखले सात महिनादेखि आजभोली भन्दै कार्यालय धाउन बाध्य पारेको र रामुक्रा सदस्य झाले कुरा गर्दा मालपोत प्रमुखले आफुलाई सरुवा गरिदिन अटेर कुरा गरेको आरोप विज्ञप्तीमा उल्लेख छ ।

‘आम जनताको काम समयमा भए नभएको अनुगमन गर्ने जिम्मा पाएका व्यक्तिले एकतर्फी कुरा सुनेर सेवाग्राही र आमजनताको पक्षमा बोल्ने राजनीतिकर्मीलाई सिडिओले तानाशाही प्रवृति देखाई ‘थुन्दिन्छु’ भन्नु गैर जिम्मेवार कार्य हो’ महतोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

महतोले सिडिओलाई संविधानले नचिन्ने निकाय भनेर उल्लेख गरेका छन् । ‘संविधानले नचिन्ने सिडिओद्वारा आमजनतालाई संविधानद्वारा प्रदत अधिकारलाई कुण्ठित पार्ने प्रमुख जिल्ला अधिकारी रामु राज कडरियालाई तत्काल छानबीन गरी कारबाही गर्न सम्बन्धित माथिल्लो निकायलाई आग्रह गर्न चाहन्छौं’ विज्ञप्तीमा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी कडरियाले भने रामुक्रा नेता झाले बढाइचढाइगरी आफुमाथि खन्निएको गुनासो गरेका छन् ।

‘मालपोतका हाकिम वृद्ध मान्छे हो । उहाँले मेरो कोठामा आएर आँसु चुहाउँदै मैले भनेको काम आजको आज गर्नुपर्यो नभए २४ घण्टाभित्र सरुवा गरिदिन्छु भनेर झाले थर्काएको सुनाउनुभयो’ सिडिओ कडरियाले न्यूजआजसँग भने, ‘राजीवजीलाई फोन गरी कहाँ हुनुहुन्छ भनेर सोधेपछि उहाँ काठमाडौंमा रहेको बताउनुभयो । मैले कर्मचारीलाई २४ घण्टाभित्र सरुवा गराइदिन्छु भन्नुहुन्छ, जथाभावी गालीगलौज गर्नुहुन्छ यस्तो गर्नुभयो भने हामीले पनि त २४ घण्टाभित्र तपाईलाई थुन्न सक्छौं नि भनेर नर्मल कुराकानीमा भनेको हुँ ।’

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: