को हुन् रामबालक सर ?

९ भदौ । हुलाकी राजमार्ग अन्तरगत सिरहाको औरही गाउँपालिकास्थित खण्डमा आइतबार विद्यालयमा पढ्ने बालबालिकाहरुले साइकल जुलुस प्रदर्शन गरेका छन् ।

‘रामबालक सरको विचार स्थापित गर, रामबालक सर अमर रहुन्’ जस्ता नारा लगाउँदै स्कुले बालबालिकाहरुले साइकलमा फोटो टाँसेर हुलाकी सडकमा प्रदर्शन गरेका हुन् ।

यसरी विद्यालयमा पढ्ने बालबालिकाहरुलाई रामबालक सरप्रतिको भावना प्रबद्र्धन गर्ने भूमिका कम्यूनिष्ट नेता रामरिझन यादवले गरेको देखियो । उनले सामाजिक सञ्जाल माफर्त रामबालक सर र उनको स्मृतिमा स्कुले बालबालिकाहरुले निकालेको साइकल र्यालीबारे उल्लेख गरेका छन् ।

ADVERTISEMENT

‘को हुन् रामबालक सर ?’ न्यूजआजको जिज्ञासामा नेता रामरिझनले भने, ‘रामबालक सरको बारेमा सतही चर्चा गरेर हुँदैन । तर, केही कुरा भन्नैपर्छ । उहाँ डिग्रीको हिसाबले कमै पढ्नुभयो । अनौपचारिक रुपमा भने उनले अध्ययन गरेको विषयवस्तुको सीमा छैन ।’

नेता यादवले रामबालक सरको बारेमा भने, ‘उहाँ बाल्यावस्थादेखि नै प्रतिभावान थिए । उनको अध्ययनप्रतिको रुचीलाई नै मूल्यांकन गरेर काठमाडौंस्थित सिद्धार्थ वनस्थली हाइस्कुलमा मैट्रिकसम्म निःशुल्क पढ्ने व्यवस्था गरिएको थियो । त्यसपछि उहाँले आइएस्सीसम्म पढ्नुभो र आजीवन शिक्षण पेशामा लागिरहनुभयो । उहाँको सबैभन्दा ठूलो गुण के थियो भने उहाँले पढाएको बालबालिकाले कुरा नबुझ्ने सवालै आएको छैन अहिलेसम्म । त्यसैले हामीले उहाँलाई खान सर भनेर सम्बोधन गथ्र्यौं ।’

खासगरी अहिले चर्चामा रहेको मिटरब्याजी सम्बन्धी मुद्दाको परिकल्पना गर्ने रामबालक यादव सिरहाको औरही गाउँपालिका –४, ईंटाटार निवासी थिए । एक वर्ष अघि मिर्गौलामा समस्या आएर निधन भएको उनले रामरिझन यादवलाई मिटरब्याज सम्बन्धी विषयलाई उठाउन वर्षौदेखि ताकेदा गर्दै आएका थिए ।

‘म हुलाकी राजमार्ग सुचारु गराउन र कमलाको पुल निर्माण कार्य सम्पन्न गराउनका लागि केन्द्रस्तरमा आवाज उठाइरहेको थिएँ । मनोज पासमान पनि मसँगै जिल्लाको नेतृत्व गरिरहनुभएको थियो । सोही क्रममा रामबालक सरले धेरै ताकेदा गर्न थालेपछि मैले मनोजजीलाई हुलाकीको कामबाट विदा गरेर मिटरब्याज सम्बन्धी मुद्दाको पक्षमा काम गर्न भनेको हुँ’ उनले भने ।

आज मिटरब्याज सम्बन्धी मुद्दाले प्राप्त गरेको उपलब्धवारे जानकारी नपाउँदै दिवंगत भएका रामबालक यादवको अग्रगामी र सामाजिक न्यायप्रति समर्पित भावलाई नयाँ पुस्तालाई अवगत गराउन आवश्यक रहेको नेता यादवको भनाई छ । यसैका लागि आइतबार स्कुले विद्यार्थीहरुलाई साइकल र्यालीमा सहभागी गराइएको उनले बताए ।

यस अघि शनिबार गोलबजारमा मिटरब्याज विरुद्ध आन्दोलनरत पक्षले रामबालक यादवलाई मिटरब्याज विरुद्ध मुद्दाको प्रणेता घोषणा गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको यादवले जानकारी दिए ।

Facebook Comments Box
न्यूज आज