प्रचण्डले मागेकै हुन् त साहको राजीनामा ?

८ भदौ । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता भरत साहलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा गर्न भनेका हुन् कि विवाद व्यवस्थापन गर्न ? दलका सदस्यहरुको मत विभाजित छ ।

शनिबार काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको मधेश संसदीय दलका नेताहरुको बैठकमा प्रचण्डले साहलाई दुई महिनाभित्र राजीनामा गर्न निर्देशन गरेको भन्दै एक पक्ष सञ्चार माध्यममा छाइरहेको छ ।

अर्को पक्षले भने साहको राजीनामा मागेको नभएर दुई महिनाभित्र विवाद समाधान गर्न सुझाव दिएको बताइरहेको छ । साह पक्षीय एक सांसदले न्यूजआजसँग भनिन्, ‘मेरो नाम उल्लेख नगर्नुहोला तर म भन्छु । माननीय भरतजीलाई राजीनामा गर्न अध्यक्ष कमरेडले भनेकै होइन । केही माननीयहरुले गलत प्रचार गर्दै हुनुहुन्छ ।’

ADVERTISEMENT

राजीनामा मागेको होइन भनेर तपाईले नाम उल्लेख गरेरै भन्न किन अप्ठ्यारो भयो त ? भन्ने न्यूजआजको जिज्ञासामा उनले भनिन्, ‘यसबारेमा मिडियाबाजी नगर्न सबैलाई निर्देशन भएको छ । तर, एक पक्षले अनर्गल प्रचारबाजीमा लागेको देखिदैछ ।’

त्यसो भए सही के हो त ? भन्ने प्रश्नमा उनले थपिन्, ‘दलको नेता भरत माननीय जी नै रहने हो । दुई महिनासम्म उहाँ रहिरहनुहुनेगरी अध्यक्ष कमरेडले भन्नुभएको छ । त्यसपछि दलका सदस्यहरु आपसमा छलफल गरेर निष्कर्षमा पुग्ने हो ।’

भरत साहलाई राजीनामा गरिहाल्न प्रचण्डले निर्देशन दिएको भन्ने समाचार पुरै गलत रहेको जिकिर गर्दै उनले दुई महिनाको कुरा गरेर प्रचण्डले विवाद सेटल गर्न खोजेको बताइन् ।

माओवादी मधेशकै अर्का सांसद जवाहर लाल कुशवाहाले भने मिडियामा आएकै समाचार सही रहेको भन्दै प्रचण्डले साहको राजीनामा मागेकै हो भन्ने आशयको जवाफ दिए । उनले थप प्रष्ट्याउन मानेनन् ।

पूर्व राज्यमन्त्री समेत रहेका सांसद रहबर अन्सारीले भने दुई महिनाभित्र साहलाई दलको नेताको पद छोड्न पार्टी अध्यक्षबाट निर्देशन भएको बताए ।

‘हामी मधेशका ९ मध्ये ६ अर्थात् दुई तिहाई सांसदले भरत साह विरुद्ध अविश्वासको प्रस्ताव दर्ता नै गराइसक्यौं’ पूर्व राज्यमन्त्री अन्सारीले न्यूजआजसँग कुराकानीको क्रममा भने, ‘दुई महिनापछि अर्का सांसद दलको नेताको रुपमा चयन हुनेछ ।’

अब अर्का को सांसद दलको नेताको रुपमा चयन हुँदैछन् ? भन्ने जिज्ञासामा अन्सारीले भरत साहबाहेक ८ जना मध्ये जोकोही पनि हुनसक्ने जवाफ दिए ।

Facebook Comments Box
सुरेशकुमार यादव