जिल्ला प्रशासनलाई साढे पाँच करोडको भवन
जनकपुरधाम । धनुषास्थित जिल्ला प्रशासन कार्यालयलाई नयाँ भवन निर्माण कार्यका लागि गृहमन्त्री रमेश लेखकले शुक्रबार एक समारोहबीच सिलान्यास गरेका छन् ।
५ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको नयाँ भवन गुणस्तरीय र निर्धारित समयसीमाभित्र सम्पन्न हुनेगरी काम गर्न मन्त्री लेखकले ठेकेदारलाई निर्देशन गरेका छन् ।
जीर्ण भवनमा सञ्चालन भइरहेको जिल्ला प्रशासन कार्यालयलाई नयाँ भवन दिन गृह मन्त्रालयले ७ करोड ८७ लाख ९४ हजार ५६६ रुपैयाँ विनियोजन गरेको थियो । तर, बोलपत्र दाबी गर्दा न्यून्तम मूल्यमा कबुल गर्ने प्रक्रिया अनुरुप सावित्री निर्माण सेवाले ५ करोड ४७ लाख २९ हजार ४४७ रुपैयाँमा काम पाएको हो ।
१६ हजार १६३ वर्गफिटको उक्त तीनतल्ले भवन २०८३ असार २८ गतेभित्र निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ । संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयको रेखदेखमा बन्ने भवनको मोडेल आरसीसी फ्रेमको हुने जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा आयोजित भवन सिलान्यास समारोहमा राष्ट्रियसभा सदस्य आनन्द ढुङ्गाना, प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन क्षेत्री, जिल्ला समन्वय समिति प्रमुख राजनन्दन मण्डल, उपप्रमुख संगीता ठाकुर, जिल्ला स्थित विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरु साक्षीको रुपमा सहभागी थिए ।