अनसन स्थगित, पुल नबनेसम्म संघर्ष जारी रहने

७ भदौ । हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहा जोड्ने कमला पुल निर्माण सुनिश्चित भएपछि तत्काल आमरण अनसन स्थगित भएको छ ।

गत मंगलबारदेखि ईन्जिनियर प्रविण यादवको नेतृत्वमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी बसेको सामुहिक आमरण अनसन शुक्रबारदेखि स्थगित भएको हो ।

अनसन बसेको चौथो दिन मुख्यमन्त्री सतिश कुमार सिंहले कमला पुल निर्माण संघर्ष समितिसँग तत्काल पुल निर्माण कार्य अघि बढाउन लिखित सम्झौता गरेका हुन् ।

ADVERTISEMENT

‘नयाँ पुल निर्माण गर्ने, नयाँ पुल निर्माणका लागि आवश्यक बजेट संघीय सरकारको अगामी बजेटमा विनियोजन गर्न पहल गर्ने, त्यो सम्भव नभए सम्पूर्ण बजेट प्रदेश सरकारको कोषबाट विनियोजन गर्ने, अगामी मंसिर १ गतेसम्म विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को लागि बोलपत्र आह्वान गरिसक्ने र संघर्ष समितिले आजैको मितिदेखि विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिनेछ’ शुक्रबार मुख्यमन्त्री सिंह र संघर्ष समितिको तर्फबाट ईन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेको सम्झौतापत्रमा उल्लेख छ ।

संघर्ष समितिका संयोजक ईन्जिनियर प्रविण यादव, सिरहा नगरपालिका –४ का वडा अध्यक्ष मोहम्मद शमसाद, सोही नगरपालिका –६ का वडा अध्यक्ष इन्द्रजीत यादव, औरही गाउँपालिका –३ का वडा अध्यक्ष जीवछ यादव, सोही गाउँपालिका –४ का वडा अध्यक्ष सुरेन्द्र कुमार यादव, सिरहा नगरपालिका –८ का वडा सदस्य ईन्जिनियर रुपेश यादव, सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, ईन्जिनियर शिवशंकर यादव, वल्र्ड फर नेपालका ईन्जिनियर मनिष यादव, ईन्जिनियर शैलेन्द्र यादव र ईन्जिनियर शिवशंकर यादव आमरण अनसनमा बसेका थिए ।

उनीहरुले एक चरणको सफलता देखिएपनि पुल निर्माण कार्य सम्पन्न नभएसम्म आफुहरुको संघर्ष जारी रहने बताएका छन् ।

Facebook Comments Box
न्यूज आज