आक्रमण गर्न आएको बाघलाई भैंसीले मार्यो
६ भदौ । बाघले मान्छे मार्यो, पशु मार्यो भन्ने समाचार आइरहन्छ । तर, आज नौलो घटनाको समाचार आयो । घटना भैंसीले बाघलाई मारेको हो ।
गोठमा बाँधिरहेको भैंसीले बाघलाई मारेको छ । गोठमा पसेर भैंसीलाई आक्रमण गरेको बाघ भैंसीकै प्रतिकारमा मरेको प्रहरीले जनाएको हो ।
यो घटना काल्पनिक होइन । टाढाको घटना पनि होइन । नेपालकै मकवानपुर जिल्लास्थित मनहरी गाउँपालिका –६, प्रतापपुरका बलबहादुर राईको गोठमा भएको घटना हो यो ।
आजै (बिहीबार) बिहान राईको गोठमा पसेको बाघ र भैंसीबीच लछारपछार चलेको थियो । राईले गोठमा बाघ पसेको थाहा पाएपछि छिमेकीहरुको सहयोग लिएर धपाउन पुग्दा भैंसी घाइते अवस्थामा र बाघ मरेको देखियो ।
दुहुनो भैंसीको पाडो दुई दिन अघि मात्रै मरेको थियो । बाघ बुढो जस्तो थियो । भैंसीको गर्दनबाट रगत बगेको देखिन्छ । बाघले भैंसीको घाँटी फोड्न खोज्दा सिङले पछारेर खुट्टाले कुल्चिदा बाघ मरेको प्रहरी अनुमान छ ।
घटनापछि इलाका प्रहरी कार्यालय मनहरी र पर्सा वन्यजन्तु आरक्षको टोली पुगेर मृत बाघलाई पोष्टमार्टमको लागि आरक्षमा लगेको छ ।