हुलाकी राजमार्गमा कमला पुल माग्दै आमरण अनसनः आज दोस्रो दिन
५ भदौ । पूर्व–पश्चिम आवतजावतका लागि जसोतसो सडक तयार भएपनि हुलाकी राजमार्गमा पर्ने कमला पुल सुचारु नहुँदा जनताले भोग्नुपर्ने सास्तीको बयान सम्भव छैन ।
सोही पुल सुचारुका लागि आवश्यक मर्मत वा पुनर्निमाण कार्य गर्न सिरहाका राजनीतिकर्मी, कर्मचारी र सामाजिक अभियानीहरुले निरन्तर आवाज उठाउँदै आएका छन् ।
वर्षौसम्म चिच्याउँदा पनि सरकारले नसुनेपछि बाध्य भएर भदौ ४ गतेदेखि जनप्रतिनिधि, कर्मचारी र सामाजिक अभियानीहरुको १० सदस्यीय टोली आमरण अनसनमा बसेको छ । अनसन सुरु भएको आज (बुधबार) दोस्रो दिन हो ।
हुलाकी सडक अन्तरगत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा सुरु भएको अनसनमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, बल्र्ड फर नेपालका मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका वडा नम्बर ३ का ध्यक्ष जीवछ यादव सहभागी छन् ।