हुलाकीमा कमला पुलका लागि आमरण अनसन

जनकपुरधाम । बहुप्रतिक्षित हुलाकी राजमार्ग निर्माण योजनाको अधिकांस कार्य सम्पन्न भएपनि कमलामा बनेको पुल सुचारु हुन सकेको छैन् ।

निर्माण कार्य सकेर ठेकेदारले हस्तान्तर गर्न नभ्याउँदै बाढीले पुल भासिएको थियो । त्यसयता विभिन्न कोणबाट ताकेदा भएपनि सुनुबाई नभएपछि बाध्य भएर केही अभियन्ताहरु आमरण अनसनमा बसेका छन् ।

ईन्जिनियर प्रविण कुमार यादव नेतृत्वको टोली मंगलबारदेखि जनकपुरस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनसन बसेको हो । अनसनमा १० जना सहभागी छन् ।

ADVERTISEMENT

हुलाकी सडक अन्तरगत कमला पुल निर्माण संघर्ष समितिका संयोजक एवं सिरहा नगरपालिकाका ईन्जिनियर प्रविण कुमार यादवको नेतृत्वमा सिरहा पुस्तकालयका कार्यवाहक अध्यक्ष भोगेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादव, वडा नम्बर ४ का अध्यक्ष मोहम्मद समशाद आलम, औरही गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुरेन्द्र कुमार यादव, बल्र्ड फर नेपालका मनिष कुमार यादव, ईन्जिनियर शैलेन्द्र यादव, सिरहा नगरपालिका वडा नम्बर ८ का सदस्य ईन्जिनियर रुपेश यादव र ईन्जिनियर शिवशंकर यादव, औरही गाउँपालिका वडा नम्बर ३ का ध्यक्ष जीवछ यादव आमरण अनसनमा बसेका हुन् ।

गत साउन २७ गते पुल निर्माणका लागि मधेश प्रदेशका मुख्यमन्त्रीलाई एक सुत्रीय माग राख्दै ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्र बुझाउँदै उनीहरुले माग पुरा नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । सोही अनुरुप सरकारको तर्फबाट ७ दिनमा कुनै किसिमको चासो नदेखिएपछि सामुहिक अनसन बस्नुपरेको संघर्ष समितिका संयोजक यादवले बताए ।

करिब १३ वर्ष अघिदेखि निर्माणधिन कमला नदीको पुल सञ्चालनमा नआउँदै भाँसिएपछि अहिलेसम्म पुनर्निर्माण हुन सकेको छैन । जीउज्यानको जोखिम हुने भएकोले नदीमा नयाँ पुल तत्काल निर्माण हुनुपर्ने अनसनकारीको माग छ ।

संघर्ष समितिका संयोजक यादवले प्रदेशसँगै केन्द्र सरकारलाई कमला पुल निर्माणका निम्ति बजेटको सुनिश्चितता गरी पुल निर्माणको वातावरण बनाउन आमरण अनसनमा बस्नुपरेको बताए ।

Facebook Comments Box
न्यूज आज