मुख्यमन्त्रीले भने, ‘किसानले ल्याउने मल रोक्ने बोर्डरमा प्रहरीले तस्करलाई केही गर्दैन’

२ भदौ । मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले बोर्डर क्षेत्रमा तस्कर आतंक रहेको बताएका छन् ।

आइतबार जनकपुरधामस्थित होटल सीताशरणमा आयोजित नेपाल भारत सम्बन्धमा युवाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले तस्करलाई प्रहरीले पनि नियन्त्रण नगरिरहेको टिप्पनी गरे ।

‘किसानले मल ल्याउँदा बोर्डरमा धेरै समस्या झेल्नुपर्छ । तर, रातोरात तस्करहरुले गाडीका गाडी सामान निकाल्छन्, उनीहरुलाई कतै केही हुँदैन’ मुख्यमन्त्री सिंहले भने, ‘यसरी तस्करी बढ्दा सरकारको कोषमा जम्मा हुने करोडौ रेभिन्यू गुमिरहेको छ ।’

ADVERTISEMENT

तस्करी नियन्त्रण र खुल्ला बोर्डरको मौका छोपेर ओसार्ने लागुऔषध रोक्न प्रहरीले खासै ध्यान नदिएको आरोप मुख्यमन्त्री सिंहको छ । उनले प्रदेश सरकारको आफ्नै प्रहरी, प्रशासन नहुँदा बोर्डरमा समस्या रहेको बताए ।

त्यस्तै, शिक्षा तथा संस्कृति मन्त्री रानी तिवारीले पनि बोर्डर क्षेत्रका युवाहरु लागु औषधको चपेटमा परेको बताए । उनले नेपाल र भारतबीचको खुल्ला सीमानामा युवाहरुले बेरोकटोक लागुऔषध भित्र्याइरहेको बताइन् ।

मन्त्री तिवारीले भनिन्, ‘म निर्वाचित भएको निर्वाचन क्षेत्रमै लामो बोर्डर लाइन छ । मेरा भोटरहरु कोही नेपालमा कोही भारतमा बस्छन् ।’ बोर्डर क्षेत्रको अवस्था निकै दुखदायी रहेको उनले बताइन् ।

Facebook Comments Box
न्यूज आज

    ट्याग: