‘स्थानीय निर्वाचन दलविहीन हुनुपर्छ’
१ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्थानीय निर्वाचनलाई दलविहीन बनाउने विषयमा पार्टीभित्र संस्थागत निर्णय गरेको छ ।
साउन २८ गतेदेखि ३० गतेसम्म बसेको पार्टी केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पहिल्यैदेखि स्थानीय निर्वाचनमा हुने भ्रष्टाचार र आर्थिक चलखेल कम गर्न दलविहीन निर्वाचन प्रणालीको वकालत गर्दै आएका थिए ।
निर्वाचन प्रणालीसँग सम्बन्धित प्रमुख विषयहरुमा जसपा नेपालले लिखित धारणा बनाएको छ । स्थानीय तहको निर्वाचनलाई दलविहीन बनाउन वकालत गरिरहेको जसपा नेपालले संसदीय निर्वाचन क्षेत्रको संख्या र सीमांकनलाई पछिल्लो जनगणना प्रतिवेदनको आधारमा परिमार्जन गराउनुपर्ने पक्षमा उभिएको छ ।
यस्तै, दलित र महिला लगायत सीमान्तकृत वर्गका लागि छुट्टाछुट्टै आरक्षित निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने र राष्ट्रियसभामा प्रदेशको जनसंख्याको अनुपातमा प्रतिनिधित्व गराउनुपर्ने धारणा पार्टीले सार्वजनिक गरेको छ ।