हप्तादिनमै पदमुक्त भएपछि राज्यमन्त्रीले के भन्छन् ?

जनकपुरधाम । गत मंगलबार अर्थात् साउन २२ गते मधेश प्रदेश सरकारको सचिवालय (मधेश भवन) मा निकै तामझाम थियो ।

सरकारको नेतृत्व गरिरहेको जनमतसमेत चार दलका पाँच जना सांसदले राज्यमन्त्री पदको शपथ लिन पुग्दा दलका कार्यकर्ताभन्दा नव नियुक्त मन्त्रीका समर्थकहरुको घुइँचो लागेको थियो ।

आफ्नै कर्मचारी र प्रहरी नहुँदा पूर्ण रुपले सरकारको हैसियत नै पाउन नसकिरहेको प्रदेश सरकारका मन्त्रीहरुको पद छ तर अधिकार छैन । मन्त्रीले नै काम पाउन नसकिरहेको बेला राज्यमन्त्रीको कल्पना गर्नु पनि व्यर्थ थियो ।

ADVERTISEMENT

तर, राजनीतिक दलहरुलाई कार्यकर्ता व्यवस्थापन गर्नै हम्मे छ । दलभित्रको महत्वाकांक्षीहरुको चित्त बुझाउन स्वयम् सरकारको नेतृत्व सम्हालेको दल जनमतसमेत सत्ताधारी दलहरुले राज्यमन्त्री बनाएर आफ्ना केही असन्तुष्ट सांसदहरुलाई लगभग इंगेज गरिसकेका थिए ।

संघमा २५ भन्दा बढी मन्त्री बनाउन नपाउने प्रावधान राखेको संविधानलाई नै टेकेर प्रदेशमा २० जनासम्म मन्त्री बनाइएको विषयले चर्चा पायो । सञ्चार माध्यमले निरन्तर यो विषयलाई उठाउन थालेपछि प्रदेशमा प्रतिपक्षीको भूमिकामा रहेको जसपा निकट युवा र विद्यार्थी त सडकमै उत्रियो ।

सर्वसधारण र राजनीतिक वृतमा पनि आलोचना हुन थाल्यो । त्यति मात्रै होइन, प्रदेशसभामा राज्यमन्त्रीहरुकै अगाडी रोष्टमबाटै कामबिहीन राज्यमन्त्री थुपारेर प्रदेशको नाम हँसाउने काम भएको भन्दै आलोचना हुन थाल्यो । अन्ततः मुख्यमन्त्रीले सबै राज्यमन्त्रीलाई बर्खास्त गर्ने निर्णय गरे ।

के भन्छन् पदमुक्त भएका राज्यमन्त्रीहरु ?
गत मंगलबार राज्यमन्त्री पदको शपथ ग्रहण गरी कार्यभार सम्हालेर मंगलबार (आज) पदमुक्त भएपछि जनमतका शम्भु कुमार साहले भने, ‘मलाई किन हटाइयो त्यो थाहा भएन । मुख्यमन्त्रीसँग सोध्नुस् । मैले यसमा केही भन्नु छैन ।’

जनमतबाटै विनाविभागीय हुँदै राज्यमन्त्रीको रुपमा कायम भएर मंगलबार पदमुक्त गरिएकी रंजु कुमारी मण्डल खंगले भनिन्, ‘म काम विशेषले बाहिर आएकी छु । मलाई पदमुक्त गरिएको भन्ने कुरा थाहा भएन । यसबारेमा जनकपुर आएपछि भोली कुरा गर्छु ।’

नेपाली कांग्रेसकी निलम कुमारी रजकले आफु राजीनामा गर्न गइरहेकै बेला मुख्यमन्त्रीले बर्खास्त गरिदिएको जानकारी पाएको बताइन् । ‘मेरो पार्टी (कांग्रेस) ले आजै राजीनामा गरिदिन भनेको थियो । म राजीनामापत्र लिएर मुख्यमन्त्री कार्यालयतर्फ गइरहेकै बेला बर्खास्तमा परेको खबर आयो’ उनले भनिन् ।

Facebook Comments Box
न्यूज आज