एक कर्मचारीको नैतिकता र दायित्व
कुनै पनि सरकारी कर्मचारीले सरकारको तलब, सुविधा खाइरहेका छन् भने उनले सरकारले अह्राएको काम कानुनी अनुशासनको दायरामा रहेर कुशलतापुर्वक सम्पन्न गर्नुपर्ने नैतिक दायित्वभित्र पर्छ ।
तलब खाइरहेका छन् तर काममा इमान्दारी छैन भने त्यस्ता कर्मचारीलाई यथास्थानमा बसेर तलब खाइरहन नैतिकताले दिँदैन, सरकारी नियमले पनि मिल्दैन ।
यहाँ यो प्रसंग केलाउँदै गर्दा संघीय सरकारको मातहतमा रहेका एक जना कर्मचारी, जसलाई काज सरुवागरी कहीँ पठाइएकोमा फिर्ता बोलाउँदा आउँदिन भन्छन् ।
त्यस्ता कर्मचारीको चाल चलन र तिनीप्रति नागरिकको आस्थाको बारेमा चर्चा गर्न खोजिएको हो ।
न्यूजआज समाजमा व्याप्त बेथिति, विकृति विरुद्ध र सुशासनको पक्षमा कलम चलाउने एक सञ्चार माध्यम हो । न्यूजआजले नियमित रुपमा ती कर्मचारीको गलत पक्षलाई समाचारको रुपमा उजागर गर्न खोज्दा कहीँ, कतैबाट आधारहिन तर्कहरु उठ्न थालेको देखिदैछ, सुनिदैछ ।
ती कर्मचारीले प्रदेशमा राम्रो काम गरे भन्छन् कसैले । त्यसकै आधारमा उनलाई कतै सरुवा गर्न मिल्दैन रे ∕ यस्तो पनि हुन्छ ? संघका कर्मचारी हुन् । संघले फिर्ता बोलायो । आफ्ना कर्मचारीलाई आफुले फिर्ता बोलाएको भनेर प्रदेश सरकारलाई लिखित रुपमै जानकारी पनि गराइएको छ ।
एउटा सरकारले आफ्ना कर्मचारीलाई फिर्ता बोलाएको भनेर अर्को सरकारलाई लिखित रुपमा बोधार्थ गरिसकेपछि अर्को सरकारको जे कानुनी कर्तव्य हो, त्यहीँ गरेको देखिन्छ प्रदेश सरकारले ।
तर, ती कर्मचारीले कुनै पनि हालतमा फिर्ता जान नचाहेको र प्रदेशले जबरजस्ती पठाए अदालत पुगेर मुद्दा दिने धम्की दिन्छन् । र, त्यस्ता अनुशासनहिन कर्मचारीको पक्षपोषण हुन्छ युवाहरुको तर्फबाट । जब एउटा सञ्चार माध्यमले समाचार बनाउँछ अनि वकालत हुन थाल्छ, राम्रो कर्मचारीलाई फिर्ता पठाउन खोजेको पक्षमा किन समाचार बनाएको ?
यो मिडियाले कानुनको पक्षमा काम गर्ने वातावरण निर्माणका निम्ति सुशासनको पक्षमा काम गर्ने संकल्प लिएको हो । क्षमताले भ्याएसम्म सकारात्मक परिवर्तनको लागि लेख्छ, वकालत गर्छ र गर्नुपर्छ ।
सञ्चारमाध्यमले यस्ता अनेकन बेथिति विरुद्ध तथ्य सार्वजनिक गर्नेछन् र सचेत नागरिकको अग्रसरताले जिम्मेवार निकायलाई काम गर्न उत्प्रेरित तथा दबाव सिर्जना गर्नुपर्ने हो । सरोकारवाला पक्ष सक्रिय भए बेथितिहरु घट्दै सुशासनको प्रबद्र्धन हुँदैजाने अपेक्षा छ ।