ल्याब कर्मचारीहरुलाई मन्त्रीले भने, ‘तपाईहरुलाई जागिर सरकारले दिएको हो, व्यक्तिको पछि नलाग्नुस्’ (भिडियो)

जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका पूर्व प्रमुख श्रवण मिश्रका समर्थकहरुले उनी प्रदेशबाट सरुवा भएर गए १३६ वटै पालिकामा कार्यरत ल्याब कर्मचारीको जागिर चट हुने प्रचार गरिरहेका छन् ।

शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मिश्रको ठाउँमा सोही कार्यालयमा कार्यरत कर्मचारी कुमार मृत्यूञ्जय प्रसादलाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि मिश्र आतिएका हुन् ।

आइतबारसम्म मृत्यूञ्जयलाई हाजिर हुन नदिई विभिन्न अवरोध सिर्जना गरिरहेका मिश्रले सबै पालिकास्थित ल्याब कर्मचारीहरुलाई आफ्नो पक्षमा आन्दोलन गर्न जनकपुर बोलाएका छन् ।

ADVERTISEMENT

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियुक्त गरेका कर्मचारी (मृत्यूञ्जय) लाई हाजिर हुन नदिई सेवाग्राहीलाई सेवाबाट बञ्चित गर्ने मिश्रको धाँधली रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंह स्वयम् प्रयोगशालामा पुगेका छन् ।

मन्त्री सिंहले अकारण आन्दोलन गर्न भनेर जनकपुर आएका र आउने क्रममा रहेका विभिन्न पालिकास्तरीय ल्याब कर्मचारीहरुलाई तोकिएको स्थानमा बसेर जनताको सेवामा खटिन निर्देशन दिएका छन् ।

मन्त्री सिंहले पालिकास्तरीय कर्मचारीहरुलाई भने, ‘तपाईहरुलाई नियुक्त गरी काममा खटाउने सरकारले हो । कोही व्यक्तिले होइन । तसर्थ कुनै व्यक्तिको उक्साहटमा लागेर काम छाडेर अन्यत्र नहिँड्नुस् । तपाईहरुको जागिर कसैले भनेर जाँदैन ।’

प्रयोगशालाका पूर्व प्रमुख मिश्रले गैरजिम्मेवार हर्कत देखाएको मन्त्रीको ठहर छ । आइतबार प्रयोगशालामा तनावको वातावरण उत्पन्न भएपछि मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहलाई अनुगमनका लागि पठाएका थिए ।

अनुगमनको क्रममा पूर्व कर्मचारीको तर्फबाट गलत भएको मन्त्री सिंहले बताए । उनले सरकारको अधिनमा रहेका कर्मचारीहरुलाई जनताको सेवामा समर्पित भएर काम गर्न निर्देशन दिए ।

Facebook Comments Box
सुरेशकुमार यादव