वित्तीय शोषणविरुद्ध संघर्ष जारी राख्ने निर्णय
जनकपुरधाम । मिटर ब्याजविरुद्ध किसान मजदुर आन्दोलनले सम्पूर्ण वित्तीय शोषण तथा उत्पीडनका सिकार भएका पीडितहरुको अधिकार र न्यायका लागि संघर्ष निरन्तर जारी राख्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न एकता घोषणा सभाले यो निर्णय गरेको आन्दोलनका अध्यक्ष अवधेश कुशवाहा, महासचिव मनोज कुमार पासमान र प्रवक्ता निर्ग नविनले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आन्दोलनले केही दिनअघि धनुषाधाम नगरपालिका –२, मंगलपुरमा हत्या गरिएको भोगेन्द्र ठाकुर, सर्लाहीका डाचाराम वाग्ले र सुनसरीका विनित सुनारलाई शहीद घोषणा गरेको छ ।
कष्टपुर्ण र जटिल संघर्षले पनि मिटर ब्याज समस्या समाधान नहुनु, राज्यले मिटर ब्याज अपराधीलाई कारबाही गर्न नसक्नु र पीडितहरुको न्यून्तम अधिकार समेत सुनिश्चित गर्न नसक्नुले संघर्षको अवधि अनश्चित भएको आन्दोलनको निष्कर्ष छ ।
मिटर ब्याज समस्याको दिर्घकालिन समाधानका निम्ति आन्दोलनप्रतिको मास चिन्तन, सांस्कृतिक परिवर्तन, आत्मनिर्भरता प्रबद्र्धन, राजनीतिक चेतनाको विकास र परिवर्तनकारी जनसंघर्षको विकास आवश्यक रहेको ठहर गर्दै आन्दोलनले यी विषयलाई दिर्घकालिन रणनीति अन्तरगत राखेर अघि बढ्ने निष्कर्षमा पुगेको छ ।