जनस्वास्थ्य प्रयोगशाला प्रमुख भए मृत्यूञ्जय, मिश्रलाई हटाइयो
जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको पदबाट श्रवण मिश्रलाई हटाएर कुमार मृत्यूञ्जय प्रसादलाई नियुक्त गरिएको छ ।
मधेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार मृत्यूञ्जयलाई प्रयोगशाला प्रमुख पदमा नियुक्त गरेको हो ।
यस अघि गत आइतबार (साउन २० गते) मिश्रलाई उक्त कार्यालयले २४ घण्टाभित्र रमाना लिई संघीय सरकारले तोकेको निकायमा हाजिर हुन जान पत्र थमाएको थियो ।
मिश्रले भने कानुनले दिएको अधिकार दावी गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफुलाई जानकारी दिएको मितिदेखि २१ दिनसम्म बस्न पाउने जिकिर गर्दै आइरहेका छन् ।
मन्त्रिपरिषद्को कार्यालयबाट लेखिएको पत्रको समेत अवमूल्यन भएपछि बाध्य भएर उनी ननिस्केपनि नियमानुसार अर्को कार्यालय प्रमुख चयन गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
उप प्रमुख मेडिकल ल्याब टेक्नोलोजिष्ट (अधिकृत नवौं तह) मृत्यूञ्जयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबारदेखि नै लागु हुने गरी मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निमित्त प्रमुखको रुपमा कामकाज सम्हाल्न नियुक्त गरिएको हो ।
‘प्रस्तुत विषयमा यस कार्यालयको मिति २०८१।०४।२५ को (प्रमुख सचिवस्तर) निर्णयानुसार तपाईलाई अर्को व्यवस्था नभएसम्म निमित्त कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्न जिम्मेवारी तोकिएको व्यहोरा अनुरोध छ’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव जय कुमार राउतले कुमार मृत्यूञ्जय प्रसादलाई लेखेको पत्रमा भनिएको छ ।