जनस्वास्थ्य प्रयोगशाला प्रमुख मिश्रले भने, ‘दुई हप्ताभित्र रमाना लिन्छु’
जनकपुरधाम । मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रले अबको दुई हप्ताभित्र मधेश प्रदेशबाट रमाना लिएर तोकिएको निकायमा हाजिर भई काम गर्ने बताएका छन् ।
न्यूज आजसँग संक्षिप्त कुराकानी गर्दै मिश्रले भने, ‘कानुन विपरित यहीँ प्रदेशमा टाँसिएर बसिरहन म चाहेकै होइन । तर, कानुनले दिएको सुविधाको उपयोग गर्न त पाउनुपर्यो नि !’
संघीय सरकारले लिएको काज सरुवा फिर्ताको पत्र आफुले पाउन ढिलो भएको कारण रमाना बुझ्न पनि स्वभाविक रुपमा बिलम्ब भएको मिश्रको भनाई छ ।
‘गत आइतबार मलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट मुख्य सचिवज्यूले फोन गर्नुभयो । मेरो काज सरुवा भइसकेको र उक्त पत्र गत शुक्रबार मधेश प्रदेशमा आएको भन्दै आइतबार दर्ता गर्ने भएकोले २४ घण्टाभित्र रमाना लिन मुख्य सचिवज्यूले आदेश गर्नुभयो’ प्रदेश मुख्य सचिवले आफुलाई काज सरुवा फिर्तावारे दिएको जानकारीबारे मिश्रले बताए ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख मिश्रले न्यूज आजसँग भने, ‘मलाई कानुनले दिएको सुविधाबारे मैले मुख्य सचिवज्यूलाई जानकारी गराइसकेको छु । स्वास्थ्य सम्बन्धी कानुन र नियमले २१ दिनभित्र बरबुझारथ गरी रमाना लिनुपर्ने सुविधा दिएको हो । त्यसैको उपयोग गरी निर्धारित समयभित्र म आफैँ रमाना लिइसक्ने सोच बनाइसकेको छु ।’
उनले पत्र मार्फत प्रमुख सचिवलाई भनेका छन्, ‘आर्थिक कार्यविधि तथा वित्तीय दायित्व नियमावली २०७७ को नियम ८६ बमोजिमको दायित्व पुरा गरी निजामति सेवा नियमावली २०५० को नियम ४० र नेपाल स्वास्थ्य नियमावली २०५५ को नियम ३६ को उपनियम (१) बमोजिमको अवधिभित्र रमाना लिई जान्छु ।’
मिश्रले आधिकारिक रुपमा प्रदेशका प्रमुख सचिवले पत्र ग्रहण गरेको दिनदेखि लागु हुनेगरी रमाना बुझ्ने म्यादको अधिकार पाउनुपर्ने दावी गरेका हुन् ।
मधेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला आजको दिनमा काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाभन्दा पनि ठूलो कार्य क्षेत्र भएको हुनाले सबै व्यवस्थापन गर्न समय लाग्ने उनको भनाई छ ।
प्रदेशका सबै पालिकाहरुमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको शाखा सञ्चालनमा आइसकेको उल्लेख गर्दै मिश्रले थपे, ‘मैले जति दिन मधेशमा बसेर काम गरेको हुँ, राम्रो गरेको छु । संघीय सरकारले फिर्ता बोलाएपछि त्यहाँ गएर पनि राम्रो गर्नेछु ।’