धनुषामा घुसखोर प्रहरी, नागरिक पीडामा मौन
जनकपुरधाम । सन्दर्भ गत आइतबार दिउँसोको हो । जिल्ला प्रहरी प्रमुखले ‘तस्करी नियन्त्रणमा वाहवाही’ लुटिरहेको बेला जिल्लाका पूर्वी क्षेत्रमा दिउँसै प्रहरीकै सेटिङमा तस्करी भइरहेको बारम्बार सुनिन्थ्यो ।
प्रहरीको सेटिङमा कसरी तस्करी हुँदो रहेछ भनेर हेर्न मन लागेर समाचार संकलनकै सिलसिलामा म विदेह नगरपालिकाको दुहबी पुगेँ । सशस्त्र प्रहरीको वेश क्याम्पदेखि ४ सय मिटर पश्चिम, रेलवे लाइनदेखि एक सय मिटर दक्षिण र भारतीय सीमा (दशगजा) देखि करिब डेढ सय मिटर उत्तरमा अवस्थित बाटो छेउको आँप बँगैचामा नेपाल प्रहरीका एक जना सईसमेत दुई जना तथा सशस्त्र प्रहरीका एक जना हवल्दारसमेत दुई जना ड्यूटीमा थिए ।
म मोटरसाइकल लिएर तिनकौरिया चौकदेखि सिधा दक्षिण दुहबी बोर्डर जाने बाटो हुँदै अघि बढिरहेको थिएँ । हुन त जनकपुरबाट कपिलेश्वरहुँदै पूर्वतिर लागेपछि बाटाभरि साइकल र मोटरसाइकलमा ठूलै संख्यामा दैनिक उपभोग्य वस्तुजस्तो देखिने सरसमान लोडगरी जनकपुरतर्फ लस्करै आइरहेको देखिरहेको थिएँ ।
जिल्ला प्रहरी प्रमुखले जनकपुरमा पत्रकारै सम्मेलनगरी आफु आएदेखि जिल्लामा तस्करी नियन्त्रण भइरहेको दावी गरिरहेको जस्तो यथार्थमा रहेनछ भनेर देख्न पाइयो ।
जब तिनकौरिया चौकदेखि तल झरें, सकीनसकी साइकल र मोटरसाइकलमा सिंगै पसल लोड गरेजस्तो दशगजापारीको बजारबाट नेपाल तर्फ आउने महिला–पुरुषको लस्कर देखें ।
म त्यो फुलबारी जो दशगजादेखि करिब डेढ सय मिटर उत्तर र सशस्त्र प्रहरीको क्याम्पदेखि करिब चार सय मिटर पश्चिममा अवस्थित थियो, त्यहाँ शितल हावा खान भनेर एकछिन रोकिएँ । एक्लै थिएँ । कसैलाई केही भनिन ।
नेपाल प्रहरीका असईको आँखा मैतिर थियो । ती असईले घरी दक्षिणतिरबाट आउने मालसामानबाहक साइकल, मोटरसाइकललाई उत्तै फर्किन इसारा गर्थे घरी अगाडी बढ्न ।
म त्यहाँ रोकिएको करिब तीन मिनेटमा सातचोटी ती असईले मलाई ‘सर कहाँबाट आउनुभयो ?’ भनि सोधे । म दुहबीसम्म आएको र एकछिन शितल खान भनेर मात्रै रोकेको भनेर जवाफ दिएपनि उनलाई विश्वास लागिरहेको थिएन ।
सम्भवतः असईले तस्करीको दृश्य नियालिरहेको मेरो नजर पढिसकेको थियो । मैले थप केही नबोलेपछि सशस्त्र प्रहरीका हवल्दारलाई मसँग डिल गर्न लगाएछ । मेरो पछाडी उभेर ती नेपाल प्रहरीका असईले सशस्त्र प्रहरीका हवल्दारसँग इसारामा कुरा गरिरहेको मैले मेरो मोटरसाइकलको ऐनामा देखिरहेको थिएँ ।
सशस्त्र प्रहरीका हवल्दारलाई आफु पत्रकार भएको र अर्कै कामले आउँदा यो तस्करीको दृश्य रोचक लागेर एकछिन उभिएको बताइदिएँ । ती हवल्दारले होइन, बिहानैदेखि खाना, पानी नखाएर प्रतिक्षा गरिरहेकाहरुलाई एकछिनका लागि खुकुलो बनाइदिएको मात्रै हो भनि जवाफ दिए ।
पछाडी उभिरहेका नेपाल प्रहरीका असईले ‘ओइ, सइसाब आउँदैछ, एकछिन बन्द गरा’ भनेर फोनमा कसैलाई भनेको मैले सुनेँ ।
दुई मिनेट पनि लागेन, सबै आवागमन ठप्प भयो ।
दुई मिनेट अघिसम्म दशगजादेखि दक्षिणतिरको बजारमा नेपालीका लागि ‘फ्रि’मै सामान बाँडिरहेको जस्तो लामबद्ध ओसारिरहेको दृश्य देखिने सडक सुनसान भइदियो । मेरो लागि त्यो दृश्य अघिको दृश्यभन्दा बढी रोचक थियो ।
आवागमन रोकिएपछि म पनि अगाडीको गाउँमा पुगेँ । बस्तीमा म पुगेको घरमा पाँच मिनेट नहुँदै तीन जना अधबैसेहरु छुट्टाछुट्टा बाइक लिएर आइपुगे । तीन मध्ये दुई जनाले आफ्नो परिचय स्थानीय हो भनेर दिए ।
मलाई परिचय दिनेहरुमध्येका एक जनाले केहीवेरपछि आफु नेपाल प्रहरीको हवल्दार भएको जानकारी दिए । सिभिल पोशाकमा रहेका उनले जे मिलाउनुपरे मिलाउँला तर समाचार नलेखिदिनुस् भनेर गुहार लगाए ।
उनीसँगै रहेका अर्का स्थानीय युवाले आफु राजिव महासेठको मान्छे भनेर परिचय दिए । राजिव महासेठको मान्छे भनेर मलाई तर्साउनका लागि भनेको हो कि उसको नाम भनेपछि कुरा मिल्छ भन्ने बुझेर मलाई थाहा भएन । उनले भने, ‘सर अपने ओहिठाम रुकि गेलिय, हमर ड्यूटीबालासब डरा गेलै ।’
मैले भने, जिल्ला प्रहरी प्रमुखले त तस्करी नियन्त्रण नै भइसक्यो भनेर दावी गरिरहेका छन् त ? ती हवल्दारले भने, ‘सर के को नियन्त्रण हुनु । यो नियन्त्रण भयो भने उहाँ (एसपी) को तलबले पुग्छ ?’
रिपोर्टर डायरी