सरस्वति मावि सुधार अभियानमा एलुम्नाई

जनकपुरधाम । कुनै बेला ‘नमूना मावि’ को उपाधी प्राप्त गरेको जनकपुरको पुरानो स्कुल सरस्वति माविलाई पुनः उठाउन यस विद्यालयबाट अध्ययनगरी विभिन्न ओहोदामा पुगिसकेका व्यक्तित्वहरुले चिन्तन गरेका छन् ।

मंगलबार जनकपुरधामस्थित होटल राजदरबारमा प्रदेशकी शिक्षा मन्त्री रानी कुमारी तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहलाई आमन्त्रण गरी सरस्वति माविका एलुम्नाईहरुले विद्यालयको स्तरमा सुधार ल्याउने सवालमा चिन्तन गरेका हुन् ।

शिक्षा मन्त्री तिवारीले करिब १५ मिनेट बोल्दा सरस्वति माविको नाम पनि उच्चारण गर्न सकिनन् । उनले सरस्वति माविको विषयमा केन्द्रीत भएर छलफल सुरु नहुँदै कार्य व्यस्तताको कारण देखाएर विदा भइन् ।

ADVERTISEMENT

नगर प्रमुख साहले भने विद्यालयको दुरावस्थाप्रति दुःख व्यक्त गरे । जग्गा, जमिनको आधारमा जनकपुरकै सबैभन्दा धनी विद्यालयको यो गतिले आफु निकै दुखी रहेको उल्लेख गर्दै उनले नियमित विद्यालय अनुगमन र विद्यालय व्यवस्थापन समिति बनाएर सुधारको अभियानमा आफु सँगै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

एलुम्नाई एशोसिएशनले आयोजना गरेको ‘सरस्वति माविको शैक्षिक अवस्था विश्लेषण लगायत चुनौति तथा अवसर पहिचान गोष्ठी’ मा विद्यालयका प्रधानाध्यापक, स्थानीय समुदायका प्रतिनिधि तथा विद्यालयका एलुम्नाईहरुको उपस्थिति थियो ।

एशोसिएशनका अध्यक्ष नवलकिशोर यादवले विद्यालयमा राजनीति हावी हुनु र शिक्षकमा इमान्दारिता नहुनुले यस्तो हालतमा पुगेको बताए । उनले यो समस्या समाधानका निम्ति आफुहरु अग्रसर भएको जनाए ।

एलुम्नाई एशोसिएशनका कनिष्ठ सदस्य सुरेश शर्माले शिक्षक र व्यवस्थापनलाई मुख्य कमजोरी बताए । त्यस्तै शिक्षकहरु शिक्षणकर्ममा लाग्नुको साटो राजनीतिकर्ममा समर्पित हुँदा विद्यालयमा समस्या आएको शर्माको भनाई थियो ।

कृष्ण दिक्षितले पनि विद्यालयमा राजनीति प्रवेश गरेदेखि समस्या सुरु भएको बताए । उनले शिक्षाको मन्दिरमा औद्योगिकरण गर्दा यो हालतमा पुगेको बताए ।

एलुम्नाई सदस्य सुशिला साहले राजनीतिकै कारण विद्यालयको स्तर धारासायी भएको बताइन् । नगर प्रमुख मनोज साहले पनि शिक्षकहरु राजनीतिमा लागेकै कारण विद्यालयको स्थिति कमजोर भएको बताए । बहुदल आएपछि विद्यालयको अवस्था कमजोर हुँदै गएको नगर प्रमुख साहको धारणा थियो ।

२०३६ सालमा यसै विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका वैद्यनाथ साहले शिक्षकहरुको लापरबाहीले विद्यार्थीमा अनुशासन नभएको र अभिभावक पनि उदासिन रहेको बताउँदै प्रधानाध्यापकको कमजोरीले पनि विद्यालयको अवस्था दयनीय भएको बताए ।

पूर्व प्रधानाध्यापक चुन्नीशरण यादवले पनि राजनीतिलाई नै दोष दिए । जितेन्द्र झाले त्यसबेलाको विद्यालयको अवस्थालाई सम्झेर पनि अहिलेको अवस्थासँग तुलना गर्दा दुःख लागिरहेको बताए । उनले नियमित रुपमा शिक्षकहरुले ड्यूटी गर्न थाले केही सुधार हुने अपेक्षा राखे ।

मुक्तिनाथ साहले सरस्वति माविको दुरावस्था हुनुको प्रमुख कारण राजनीति र अर्को शिक्षकहरुको ढिलासुस्तीसँगै अभिभावकको उदासिनता पनि रहेको बताए । उनले एलुम्नाईले पुरानै अवस्थामा फर्काउने प्रयासमा लागेको बताए ।

Facebook Comments Box
न्यूज आज