उद्योगको प्रमुख समस्या अनियमित विद्युत होः मनिष रमण
जनकपुरधाम । मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशको उद्योग तथा व्यवसायमा देखिएको समस्याबारे सरोकारवालासँग विमर्श गरेका छन् ।
जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा प्रदेशका उद्योगीहरुसँग शुक्रबार मधेश भवनमा बसेर मुख्यमन्त्री सिंहले समस्या समाधानका लागि छलफल गरेका हुन् ।
छलफलमा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षद्वय ई. प्रकाश चन्द्र साह र निर्मल चौधरी, वर्तमान अध्यक्ष जितेन्द्र महासेठ, वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, महासचिव मनोज साह, कोषाध्यक्ष परमेश्वर साह लगायत पदाधिकारीहरु सहभागी थिए ।
वरिष्ठ उपाध्यक्ष मनिष रमणले मधेश प्रदेशको उद्योग र व्यवसायमा सबैभन्दा ठूलो समस्या विद्युत आपुर्तीमा अनियमितता रहेको बताए । ‘मधेश प्रदेशको उद्योगमा समस्याको कुरा गर्दा सबैभन्दा ठूलो समस्या विद्युतको छ । अहिले हामी यो बैठकमै बसिरहेको बेला कति पटक विद्युत आउने जाने भइरहेको छ । खासगरी साना उद्योगीहरु विद्युतको समस्याले निकै तनाव झेल्नुपर्ने अवस्था छ’ वरिष्ठ उपाध्यक्ष साहले भने ।
साहले विद्युतको समस्याबारे प्रमुख जिल्ला अधिकारीमार्फत विद्युत कार्यालयका प्रमुखसँग पनि कुरा गरेका छन् । तत्काल यो समस्या समाधानका लागि चौतर्फी पहलमा लागेको र अबको पाँदेखि सातदिन भित्र समस्या समाधान हुने आश्वासन आएको उनले बताए ।