लागुऔषध प्रयोगकर्तालाई स्पर्शको उपचार
जनकपुरधाम । लागु औषध दुव्र्यसन न्यूनिकरण अभियानमा लागेको स्पर्श नेपालले कार्यक्षेत्र विस्तार गर्दै दुव्र्यसनीलाई उपचारसहितको सुधार केन्द्र सञ्चालनमा ल्याएको छ ।
एचआइभी नियन्त्रण, संक्रमितलाई उपचार र स्याहार तथा लागु औषध दुव्र्यसनीलाई लक्षित गरी सामाजिक कार्यमा सक्रिय स्पर्श नेपालले दुव्र्यसनमा फँसिसकेका युवाहरुलाई आवासीय उपचार तथा सुधारका लागि केन्द्र सञ्चालनमा ल्याएको हो ।
मिथिला नगरपालिका –६, ढल्केवरमा सञ्चालित केन्द्रमा न्युन खर्चमा तीन महिनाको उपचारकोर्ष उपलब्ध गराउने स्पर्श नेपालका कार्यक्रम व्यवस्थापक नविन मल्लिकले जानकारी दिए । उनले आधुनिक तथा वैज्ञानिक पद्धतिबाट लागु औषध तथा मादक पदार्थ दुव्र्यसनको लतमा फँसेकाहरुलाई उपचार गर्ने बताए ।
रक्सी, चरस, स्माइक, गाँजा, अफिम, क्याप्सुल, इन्जेक्शन आदि माध्यमले नसाको लतमा फँसेकाहरुलाई चिकित्सकीय, ध्यान योग, प्रार्थना, परामर्श र साइकोलोजीकली उपचार गर्न थालिसकेको कार्यक्रम व्यवस्थापक मल्लिकले जनाए ।
तीन महिना निःशुल्क
भर्खरै सञ्चालनमा आएको उपचार केन्द्रमा आउँदो शनिबारसम्म भर्ना हुन आउनेलाई तीन महिनासम्म निःशुल्क उपचारको व्यवस्था गर्ने ‘अफर’ राखिएको छ । बिहीबारदेखि सुरु भएको यो अफर तीन दिनसम्म लागु रहने मल्लिकले जानकारी दिए ।
यो उपचार केन्द्रको क्षमता दुई सय वेड रहेको छ । सम्भवतः यो मुलुककै ठूलो र सुविधायुक्त सुधार केन्द्रको रुपमा रहेको मल्लिकको दावी छ । तराई मधेशमा अत्यधिक गर्मी र जाडो महिनामा अत्यन्तै चिसो हुने हुँदा उक्त सुधार केन्द्रमा एसी (वातानुकुलित) सुविधा पनि जडान गरिएको छ ।
लागुपदार्थ मुक्त समाज निर्माण गर्ने उदेश्यले सुधार केन्द्र सञ्चालन गरिएको हो । यो केन्द्र व्यवसायमुखी नभएर समाजहित कार्यलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको स्पर्श नेपालका कार्यक्रम व्यवस्थापक मल्लिकले जानकारी दिए ।