गुरुदेवको गुनासो, ‘रामभरोसले दिएनन् भरोसा’

जनकपुरधाम । बिहीबार बिहानैदेखि सामाजिक सञ्जालमा एउटै व्यक्ति छाइरहेका छन्, गुरुदेव कामत । नेपाली गीत, संगीतका नामी व्यक्तित्व गुरुदेवको निधन खबरले चौतर्फी साहित्य क्षेत्रमात्रै होइन, चौतर्फी सन्नाटा छाएको छ । सामाजिक सञ्जालहरु गुरुदेवले गाएको गीत, संगीत र तस्बिरले छाएको छ ।

यसैबीच बिरामी अवस्थामा वरिष्ठ शास्त्रीय गायक गुरुदेवले व्यक्त गरेको गुनासो सामाजिक सञ्जालमा भाइरल हुँदैछ । उनले मधेश प्रज्ञा प्रतिष्ठानप्रति आक्रोश पोखेका छन् ।

प्रज्ञा प्रतिष्ठानका रामभरोस कापडिको नामै लिएर उनले त्यहाँ काम गरेको पारिश्रमिक नपाएको गुनासो मात्रै गरेका छैनन् ।

भिडियोमा गुरुदेवले साहित्यकारहरुको आस्थाको केन्द्र हुनुपर्ने प्रतिष्ठानमा काम गरेवापत पाउनुपर्ने रकम आफु जीवन, मृत्युसँग संघर्ष गरिरहेको अवस्थामा सहयोग स्वरुप पनि पाउन नसकेको दुखेसो व्यक्त गरेका छन् ।

‘खटलहा पैसा नै देलक । एक लाखमे गफ भेल रहैक, हमर प्रोग्राम । एकटा तबला वादकके लौलियै, हम प्लेन सँ आविगेलौं जनकपुर । प्लेनके टिकट रहैक पठौने । एहन बिरामी हालतमे हम चारि घण्टा प्रोग्राम केलियै, चारि घण्टा… । प्रोग्राम कैलियै । तेकरवाद आब कालमे रामभरोस कापर हमरा कहैय जे पैसा त अखन निकासा नै भेलै । एक हप्ताके वाद जे छै से निकासा हेत,ै सरकारी कारोबार छै । एक हप्ता वाद अहाँके पठा दैछि या त हम अपने अबैछी । कहलियै ठीक छै आब सरकारीए काम छै त कोनो बात नै । देखियौ ओ पैसा एखन तक नै देने छै । एहि ठाम जे पत्रकारसब पकरलकै ओकरा रामभरोस कापरके, ओहो ठाम एक लाख रुपैयाँ गछि लेलकै ।’ भिडियोमा गुरुदेव कामतले बोलेको भ्वाइस हो यो ।

कापडिले प्रतिष्ठानको कार्यक्रममा आमन्त्रण गर्दा कामत आएको स्वीकारे पनि उनले लगाएको आरोप स्वीकार्न तयार छैनन् ।

‘हो, संस्थाको तर्फबाट मैले आमन्त्रण गरेको हो । उहाँले प्लेन चढेर आएको र फर्किन लाग्ने पैसा तत्काल मैले आफ्नै पकेटबाट दिएको छु’ कापडिले न्यूज आजसँग भने, ‘एक लाख रुपैयाँको कुरा मैले गरेको छैन । जहाँसम्म उहाँको पारिश्रमिकको सवाल छ । त्यो अहिले पनि भुक्तानीको प्रक्रियामा छ ।’

कापडिले प्रतिष्ठित गायक एवम् संगीतकार गुरुदेवलाई बिरामी भएको अवस्थामा आर्थिक सहयोग गर्न पनि रकम निकासाको फायल प्रक्रियामै रहेको बताए । उनले थपे, ‘आर्थिक अभावको कारण उनको उपचारमा समस्या भइरहेको सुनेपछि दुई तीनदेखि आफ्नै तर्फबाट भएपनि केही सहयोग गर्न जाने सोच बनाइरहेको थिएँ । आज बिहान अचानक घटनाबारे सुनेपछि केही हुनै सकेन ।’

Facebook Comments Box