रहेनन् गायक गुरुदेव
जनकपुरधाम । मिथिला क्षेत्रका अत्यन्तै चर्चित एवम् लोकप्रिय वरिष्ठ शास्त्रीय गायक गुरुदेव कामतको निधन भएको छ ।
बिहीबार बिहान सिरहाको पोखरभिन्डास्थित कामतको पुख्र्यौली घरमै निधन भएको बुझिएको छ ।
मिथिला मात्र होइन, नेपाली साहित्य क्षेत्रकै चर्चित नाम हो गुरुदेव कामत । उनले नेपाली संगीत क्षेत्रमा निकै उचाइ पाएका व्यक्तित्व हुन् । शास्त्रीय संगीत साधकको पहिचान बनाएका गुरुदेवको गत चैतमा दुवै मिर्गौलामा समस्या देखिएको थियो ।
पहिल्यैदेखि मिर्गौलामा समस्या रहेपनि स्वास्थ्यमा खराबी देखिएपछि उपचारको क्रममा गत चैतमा रोग पत्ता लागेको थियो । तत्काल काठमाडौंमा उनको प्रारम्भिक उपचारपछि केही दिनसम्म डायलासिस गरियो ।
आर्थिक अभावको कारण काठमाडौंमै उपचार सम्भव नहुने अवस्था आएपछि तीन दिनअघि मात्रै उनी गाउँको घर फर्केका थिए ।
शास्त्रीय संगीतमा यति धेरै श्रद्धाका साथ उच्चारण हुने नाम गुरुदेवको आर्थिक अभावमा उपचार नहुँदा मृत्युवरण गर्नुपर्ने बाध्यता समाज र देशकै लागि दुखद् हो ।