बाँदरले रोक्यो, नमान्दा दुवै खुट्टा उड्यो

जनकपुरधाम । ‘हात–गोर रहतै तब न कमा क खयतै ! अर्थात् हातखुट्टा भए न केही आर्जन गरी गुजारा गर्न सक्थे’ बुधबार जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अर्थोपेडिक विभागमा उपचाररत श्रीराम दासको शय्यानजिकै उभिरहेकी एकजना महिलाले बिलौना गरिरहेकी थिइन् ।

ती महिलाको आशय थियो, ‘हातखुट्टा दुरुस्त रहे सम्पत्ती नभए ज्याला–मजदुरी गरेर पनि गुजारा गर्न सक्छन् ।’ गत शनिबार जनकपुरधाम–जयनगर रुटमा चल्ने रेलको फलामे पाङ्ग्राले किचेर एक मजदुरको दुवै खुट्टा काटिएको घटना हो यो ।

घटना शनिबार, ०८१ साउन १२ गते बिहान ११ बजेको हो । धनुषा जिल्लास्थित जनकनन्दनी गाउँपालिका –३, खजुरीमहुवा घर भएका श्रीराम दास ज्याला मजदुरीका लागि घरबाट निस्केका थिए ।

गाउँमा असारको रोपाइँ लगभग सकिसकेको छ । रोपाइँ चल्दासम्म गाउँकै गृहस्थहरुको खेतबारीमा रोपाइँको लागि श्रीरामले ज्यालामा खटे । अब गाउँमा मजदुरी नपाएपछि कामै खोज्न सहर जान लागेका थिए उनी ।

‘दाजुले जनकपुरमा घर निर्माण कार्यका लागि मजदुरी गर्न आए काम छ भनेर बोलाउनुभयो’ अस्पतालको शय्यामा अकल्पनीय घटनाको सिकार भएर बेसहारा बनेका श्रीरामले न्यूज आजसँग कुराकानी गर्दै शनिबारको त्यो घटना सम्झे, ‘हातखुट्टा तगडा रहेसम्म (बुढो, अशक्त नभइन्जेल) त काम गर्ने हो भन्दै मैले दाजुलाई आजै आउँछु भनेर घरबाट खाना खाएर निस्केको थिएँ…..।’

बोल्दाबोल्दै घाँटी अड्किएपछि केहीवेर मौन भएका श्रीरामले अगाडी भने, ‘मेरो गाउँदेखि अगाडी महुवा हल्ट पर्छ । हल्टमा रोकेको रेलमा चढेर गइहाल्छु भन्ने मेरो योजना थियो । म त्यहाँ नपुग्दै रेल खुलिसक्यो । स्पिड (गती) लिइसकेको थिएन । म दौडिएर रेलसम्म त पुगिसकेको थिएँ । रेलमा चढ्नै लाग्दा खै कहाँबाट एउटा बाँदर आएर मलाई रोक्न खोजेको जस्तो लाग्यो । मैले बाँदलाई हातले पन्छाइदिएर रेल चढ्न खोजेँ । अचानक मेरो गम्छा ढोकामा बेरिएर म तल पछारिएँ र रेलको चक्काले मेरो दुवै खुट्टा नै उडाइदियो ।’

आफुलाई रोक्न खोजेको बाँदरलाई हातले पन्छाइदिएको र गम्छा रेलको ढोकामा बेरिएकोसम्म उनलाई याद छ । त्यसपछि उनको होस् आउँदा उनी प्रादेशिक अस्पतालको शय्यामा थिए । आफ्नो दुवै खुट्टा आफुसँग नरहेको उनले अस्पतालमा पुगेको केहीवेरपछि मात्रै थाहा पाएको सुनाए ।

श्रीराम चार दाजुभाई हुन् । सबै दाजुभाई छुट्टाछुट्टै (भिन्न) भएर बसिरहेका छन् । श्रीरामको परिवारमा एक श्रीमति, एक छोरी र दुई छोरा छन् । घटनापछि श्रीमति कुुसुमले अस्पतालमा बसेर श्रीरामको स्याहार गरिरहेकी छिन् । छोरी सानीआमाकोमा र छोराहरु हजुरआमाकोमा आश्रय लिइरहेका छन् ।

‘घटनापछि छोरीछोराहरु सबै अस्पतालमा आएका थिए । तर, उनीहरुले धैर्यता राख्न नसकेपछि आफन्तसँग पठाइदिएको हुँ’ कुसुमले भनिन् ।

जम्मा एकधुर घडेरीमा रहेको एककोठे फुसको घरमा श्रीराम परिवारको गुजारा चलिरहेको थियो । श्रीमान्, श्रीमति र छोराहरु सबै सुत्ने अनि खाना पकाउने पनि त्यहीँ एकमात्र छाप्रो । गाई, बाख्रा पाल्न इच्छा भएपनि राख्न ठाउँ नभएर नसकेको दुखेसो ।
श्रीरामले ज्याला मजदुरी गरी ल्याउने अन्नपातले परिवारको हातमुख जोड्ने काम भइरहेको कुसुमले बताइन् । कुसुमले असारमा रोपाइँ र मंसिरमा गृहस्थको खेतमा धान काट्न बाहेक काम पाउँदिनन् ।

गरिबीकै कारण छोरीलाई दिदीको घरमा पठाइदिएको बताउने कुसुमले छोराहरु गाउँकै सामुदायिक विद्यालयमा नाममात्रको लागि पढ्न जाने गरेको जानकारी दिइन् । १३ वर्षीया छोरीले भने अहिलेसम्म विद्यालयको मुख पनि हेर्न नपाएको उनले बताइन् । छोराहरु १० वर्षे ३ कक्षामा र ७ वर्षे १ कक्षामा जानेआउने गर्छन् ।

कुसुमलाई छोरीछोराको पढाइभन्दा पनि बाँकीको जीवन कसरी कटाउने भन्ने चिन्ता छ । उनले भनिन्, ‘मसमेत तीन छोरीछोराहरुको एकमात्र सहारा सँधैका लागि खुट्टाविहीन भइदिए । अब मेरा लालाबालाहरुको पेट कसरी भर्छ ?’ उनले अरुसँग केही नभएपनि रेलवे विभागले आफुलाई काममा लगाइदिए परिवार पाल्न सक्ने भरोसा रहेको सुनाइन् ।

‘उहाँ (श्रीराम) सबल हुँदासम्म हामीलाई पाल्नुभयो । अब रेलवेले मलाई काम दिए श्रीरामसमेत छोरीछोरालाई पाल्ने साहस जुट्थ्यो’ उनले भनिन् ।

गत मंगलबार श्रीरामजानकी समाज सेवा समिति नामक संस्थाले एउटा ह्वीलचेयर र साढे पाँच हजार रुपैयाँ दिएपछि थोरै सहारा पाएको अनुभूति उनको अनुहारमा झल्केको देखियो । नेपालका विभिन्न गाउँबाट वैदेशिक रोजगारमा गएका युवाहरुले दुईचार रुपैयाँ चन्दा आपसमा संकलन गरी समाजमा विपद् आइपर्ने व्यक्ति, परिवारलाई केही भरथेगहुनेगरी सहयोग गर्ने संस्था हो, श्रीरामजानकी समाज सेवा समिति । समितिका अन्तर्राष्ट्रिय अध्यक्ष विजय यादवले श्रीराम परिवारको दुःखमा मलम लगाउन सहयोगी मनहरुलाई आग्रह गरेका छन् ।

यसैबीच, हिन्दु सम्राट सेनाले पनि ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । यसले तत्काल श्रीरामलाई उपचारमा राहत प्राप्त भएको छ भने थप सहयोगको आवश्यक्ता रहेको सेनाकी उपाध्यक्ष लक्ष्मी सनातनीले बताइन् ।

Facebook Comments Box