मुख्यमन्त्रीले खोज्दै, प्रयोगशाला प्रमुख भाग्दै

जनकपुरधाम । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रलाई संघीय सरकारले पठाएको ठाउँका लागि विदाइ गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बोलाएको छ ।

गत असार २० गते संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र लेखेर मिश्रलाई दरबन्दी कायम रहेको कोशी अस्पतालमा हाजिर हुन भनेको छ । उक्त पत्रको बोधार्थ मन्त्रालयले मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई गरेको छ ।

बोधार्थ पाएको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मिश्रलाई संघीय सरकारले खटाएको ठाउँमा जान ताकेदा गरिरहेको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिए ।

‘मिश्रलाई हामीले खोज्दै हिँडेका छौं उहाँ भाग्दै हिँडिरहनुभएको छ’ मुख्यमन्त्री सिंहले न्यूज आजसँग भने, ‘संघका कर्मचारी हुन् । संघले बोलाइसकेपछि उहाँ जानुपर्छ । हामीले पठाइदिनुपर्छ ।’

यो क्रममा दुई पटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फोन गरी मिश्रलाई रमाना लिन बोलाइसकेपनि अहिलेसम्म नआएको मुख्यमन्त्री सिंहले बताए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केशवराज सुवेदीले प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखको रुपमा रहेका मिश्रको काज सरुवा फिर्ता भइसकेपछि तोकिएको ठाउँमा गइसक्नुपर्ने बताउँछन् ।

‘कुनै पनि कर्मचारीले विभागीय मन्त्रालयको पत्र पाउने बित्तिकै सम्बन्धित निकायलाई बरबुझारथ गरी तोकिएको ठाउँमा हाजिर भई कामकाज सम्हाल्नुपर्ने हो । यो कर्मचारीको नैतिकताको सवाल पनि हो’ सुवेदीले भने ।

सचिव सुवेदीले निर्धारित समयसीमा भित्र मिश्रले रमाना नबुझे कानुन बमोजिम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निर्णय लिने जानकारी दिए ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज