कानुनलाई झुक्याएर ‘बढुवा’, पावरले रोक्न खोज्दै ‘सरुवा’

जनकपुरधाम । जनकपुरधामस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख पद कब्जागरी बसेका श्रवण कुमार मिश्रले कानुनलाई झुक्याएर आफ्नो बढुवा गराएको तथ्य बाहिर आएको छ ।

संघीय सरकार अन्तरगतका कर्मचारी रहेका मिश्रको दरबन्दी कायम रहेको कोशी अस्पतालमा गएर कामकाज गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको करिब एक महिना पुगिसक्यो । उनले सरुवा रोक्ने पर्यत्नमा लागेका छन् । प्रदेश सरकारले पनि उनको काज सरुवा फिर्तालाई ढाकछोप गरिरहेको देखिन्छ ।

बढुवामा प्रश्न
२०६३ जेठ ३० गते मेडिकल ल्याब टेक्नोलोजिष्ट (छैठौं तह) मा जागिर सुरु गरेका मिश्रले आठौंबाट नवौं तहमा बढुवा गराउँदा कानुनलाई छलेर अघि बढेको तथ्य भेटिएको छ ।

मिश्रलाई २०६४ साउन ११ गते सातौ तहमा बढुवा गरिएको थियो । त्यसको ठीक दुई वर्षपछि अर्थात् २०६६ साउन ११ गते उनी आठौ तहमा बढुवा भएका हुन् ।

जबकी, सातौबाट आठौ तहमा बढुवा हुन अघिल्लो तह (सातौ) मा कम्तीमा तीन वर्ष काम गरिसकेको हुनुपर्ने कानुनी मापदण्ड रहेको छ । यस आधारमा मिश्रले सातौबाट आठौ तहमा बढुवा हुँदा पनि आधार पुगिनसकेको देखिन्छ ।

आठौ तहबाट नवौं तहमा बढुवा हुन स्वास्थ्य सेवा ऐन २०५३ ले तीन वटा मापदण्ड निर्धारण गरेको छ ।

पहिलो मापदण्ड
नवौ तहमा बढुवा हुन एक तह मुनि (आठौ तहमा) कम्तीमा दुई वर्ष दुर्गम वा कम्तीमा एक वर्ष अतिदुर्गम क्षेत्रमा काम गरेको हुनुपर्ने हो । यो मापदण्ड मिश्रले पुरा गरेको देखिदैन ।

यहाँ, दुर्गम वा अतिदुर्गम क्षेत्रमा सम्बन्धित पद वा दरबन्दी उपलब्ध छैन भने उक्त मापदण्ड लागु हुँदैन । तर, मिश्रले धारण गरेको पद र उक्त पदको दरबन्दी तत्कालिन समयमा पनि बाग्लुङ र डडेलधुरा लगायत दुर्गम र अतिदुर्गम जिल्लाहरुमा उपलब्ध थियो ।

दोस्रो मापदण्ड
नवौ तहमा बढुवा हुन एक तह मुनि (आठौ तहमा) कम्तीमा ८ वर्ष सेवा गरेको हुनुपर्नेछ । यस आधारमा कम्तीमा ०७४ सालमा हुनुपर्ने बढुवा ०७३ मै आठौबाट नवौं तहमा भएकोले यो मापदण्ड पनि पुरा गरेको देखिएन ।

तेस्रो मापदण्ड
नवौ तहमा बढुवा हुन एक तह मुनि (आठौ तहमा) कम्तीमा दुई वर्ष काठमाडौं उपत्यका बाहिर काम गरेकै हुनुपर्नेछ ।
मिश्र आठौ तहमा रहँदा राजविराजस्थित सगरमाथा अस्पतालमा २०७१ असोज ३० गते सरुवा भएर पुगे ।

२०७३ जेठ १७ गते उनको बढुवा भयो । यसले उनी बढुवा भएको दिनसम्म पनि दुई वर्ष पुगेको देखिदैन । जबकी बढुवाको लागि उम्मेदवार बन्न पनि उनले यो मापदण्ड पुरा गरेको हुनुपर्ने थियो ।

दशौं तहमा स्तरवृद्धिको आधारमा बढुवा पाएका मिश्र अहिले एघारौं तहमा रहेर तलब सुविधा ग्रहण गरिरहेका छन् । नवौं तहमै बढुवा हुँदा कानुन विपरित भएको हो भने उनी एघारौं तहमा कसरी पुगे भन्ने प्रश्न उब्जिएको छ ।

यसबारे प्रतिक्रिया लिन खोज्दा उनले प्रयोग गर्ने दुई वटा मोबाइलमा दशौ पटक पुरा समय घण्टी बज्दा पनि उठिरहेको छैन ।

Facebook Comments Box