सञ्चालन भयो जानकी आँखा अस्पताल

जनकपुरधाम । अस्पताल सञ्चालक समितिका पदाधिकारी र कर्मचारीबीचको विवादले ठप्प हुन पुगेको जानकी आँखा अस्पताल आज (आइतबार) देखि पुनः सञ्चालनमा आएको छ ।

सञ्चालक समितिले कोषाध्यक्ष धिरेन्द्र मोहन झालाई ‘ओभरटेक’ गरी आर्थिक कारोबार गरेको र काम गर्ने चिकित्सक अभाव रहेको बेला भएकालाई पनि निकालेको विरोधमा एक पक्षले आन्दोलन सुरु गरेको थियो ।

कोषाध्यक्ष झाको अगुवाईमा सुरु भएको उक्त आन्दोलनमा नागरिक समाज र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले समर्थन जनाएपछि प्रभाव बढ्दै गइरहेको थियो । यता, आन्दोलनरत पक्षका चिकित्सकहरुले बन्द रहेको अस्पतालको चौरमा बिरामीलाई तत्काल सेवा दिएपनि आवश्यक उपकरण अभावमा सम्भव भइरहेको थिएन ।

अस्पताल दिनदिनै दयनीय अवस्थामा पुग्न थालेपछि मधेश प्रदेश सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह गरी सञ्चालन गराएको हो । गत शुक्रबार अस्पतालको दुवै पक्षसँगै नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवाला पक्षबीच प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह तथा राज्यमन्त्री केशव रायले समन्वय बैठक आह्वान गरेका थिए ।

मन्त्रीद्वयको पहलमा बनेको सहमति अनुरुप आइतबारदेखि अस्पताल सुचारु भएको हो । ‘हामीले मन्त्रालयमै बोलाएर सम्बन्धित पक्षहरुबीच बनाएको सहमति अनुरुप आज (आइतबार) निर्धारित समयमै आन्दोलनरत पक्षले ताला खोलेर धर्नासमेत अन्त्य गरी अस्पतालको नियमित सेवा सुचारु गराउन सहयोग गरेको छ’ अस्पताल खुलाउन पुगेका मन्त्री सिंहले भने, ‘यो सुखद् पक्ष हो ।’

राज्यमन्त्री रायले प्रदेशकै गौरवको रुपमा रहेको नेपाल र भारतका धेरै जनताको भरोसाको केन्द्र रहेको जानकी आँखा अस्पतालको स्तरोन्नति गर्न सबै पक्षको सकारात्मक ध्येय रहेको बताए । उनले भने, ‘अस्पताल बन्द गरेर कसैको हित हुँदैन । हाम्रो अनुरोधलाई सबैले स्वीकार गर्नु सकारात्मक पक्ष हो ।’

राज्यमन्त्री रायले दोषीलाई विधिपुर्वक छानबीन गरी कानुन बमोजिम कारबाही हुनेगरी तत्काल अस्पताल सञ्चालनमा ल्याइएको बताए । लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवको संयोजकत्वमा एक समिति गठन गरी छानबिन सुरु गर्ने उनले जानकारी दिए ।

नागरिक समाजको तर्फबाट आन्दोलनको नेतृत्व सम्हालेका पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले प्रदेश सरकारको पहललाई सकारात्मक बताएका छन् । नेपाल रेडक्रस सोसाइटीका स्थानीय प्रतिनिधिको कारण फितलो बनिरहेको अस्पताललाई प्रभावकारी बनाउन प्रदेश सरकारको सहयोग र सक्रियता हुनुपर्ने उनले बताए ।

पूर्व राज्यमन्त्री यादवले प्रदेश सरकारको सकारात्मक पहलकै कारण आजैबाट धर्ना लगायतको विरोधको सबै कार्यक्रम स्थगन गरेको घोषणा पनि गरे । उनले अस्पताललाई नियमित रुपमा सुचारु रहन दिई त्यहाँको समस्या समाधान गर्न छानबिन समितिलाई सघाउनका लागि पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरे ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज