‘जनस्वास्थ्य प्रयोगशाला’ कि ‘कर्मचारी सरुवा प्रयोगशाला ?’

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला ‘कर्मचारी सरुवा प्रयोगशाला’ को रुपमा परिचित हुँदैछ ।
यस प्रयोगशालाका प्रमुख श्रवण कुमार मिश्रदेखि मातहतका कर्मचारीहरु राम विनय साह र सन्तोष यादवको पृष्ठभूमि हेर्ने हो भने यो निकाय जनस्वास्थ्य प्रयोगशाला भन्दा कर्मचारी सरुवा गर्ने प्रयोगशालाको रुपमा प्रयोग भइरहेको पुष्टी हुन्छ ।
सन्तोष यादव माइक्रोबायोलोजिष्ट (सातौं तह) संघीय सरकारका कर्मचारी हुन् । उनी जनकपुरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हाजिर भई तलब सुविधा खान थालेको एक वर्ष बितिसक्यो । आजको मितिसम्म न त उनका लागि यस प्रयोगशालामा दरबन्दी कायम हुन सक्यो न फिर्ता पठाउन सम्बन्धित निकायले चासो लियो ।
यस्तै प्रकृतिका अर्का कर्मचारी हुन् राम विनय साह । उनी पनि संघीय सरकारकै कर्मचारी हुन् । गत (२०८०) पुस महिनामा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा हाजिर भएका साहको पदमा प्रदेश सरकारकै कर्मचारी हाजिर भएर काम गर्न थालेको पनि करिब ६ महिना पुगिसक्यो । साहले संघबाट काज सरुवा लिएर यहाँ हाजिर भएकै पदमा अर्का कर्मचारी आइसकेपछि नियमतः उनी (साह) संघमा फर्किसक्नु पर्ने थियो ।
संघीय सरकारको मातहतमा पर्ने वीर अस्पतालबाट काज सरुवा लिएर प्रदेश प्रयोगशालामा आउँदा साहको रमानापत्रमै लेखिएको थियो, ‘तपाइले काज सरुवा गरी सम्हालेको पदमा प्रदेश लोकसेवा आयोगले कर्मचारी पठाए स्वतः काज सरुवा फिर्ता हुन्छ ।’

साहको पदमा प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएर कुमार मृत्युञ्जय प्रसाद आए । उनले नियमतः हाजिर भई नियमित रुपमा तोकिएको कार्यसम्पादन गरिरहेका छन् । उनको हाजिरीपछि राम विनय कामविहीन भएपनि संघमा फर्किन मानेका छैनन्, तलब प्रयोगशालाबाटै खाइरहेका छन् । न त उनी आफै दरबन्दी भएको ठाउँमा फर्किने चेष्टा गरेका छन् न सम्बन्धित निकायले मतलब गर्यो ।
सन्तोष र राम विनयकै सूचिमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुखको नाम पनि पर्दोरहेछ । प्रयोगशाला प्रमुख श्रवण कुमार मिश्र संघीय सरकारको मातहतका कर्मचारी हुन् । उनको दरबन्दी कोशी अस्पताल, विराटनगरमा कायम छ ।
तत्काल काज सरुवामा मधेश प्रदेश सरकारको मातहतमा रहनेगरी पठाइएका मिश्रलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २० गते दरबन्दी रहेको स्थान विराटनगरमा हाजिर भई काम गर्न पत्र थमायो ।

मन्त्रालयका शाखा अधिकृत रामप्रसाद ओलीले २०८१ असार २० गते मिश्रलाई लेखेको पत्रमा भनिएको छ, ‘यस मन्त्रालय (संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) मन्त्री स्तरको मिति २०८१ असार २० गतेको निर्णय अनुसार तपाइलाई दरबन्दी रहेको निकाय कोशी अस्पताल, विराटनगरमा काज फिर्ता गरिएको व्यहोरा अनुरोध छ ।’
मन्त्रालयले मिश्रलाई लेखेको पत्रको बोधार्थ जनकपुरधामस्थित मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय किताबखाना, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र कोशी अस्पताललाई समेत बोधार्थ गरेको छ ।
प्रयोगशालाका एक जना अधिकृतले जानकारी दिए अनुसार मिश्रले संघीय मन्त्रालयको निर्णयलाई यथास्थितिमा राख्न राजनीतिक तथा आर्थिक पहुँच जुटाउन कसरतमा लागेका छन् । उनले जसरी पनि मधेश प्रदेशमै रहेर जनस्वास्थ्य प्रयोगशाला छोड्न नचाहेको ती अधिकृतले जनाए । यसबारे प्रतिक्रिया लिन खोज्दा मिश्रले प्रयोग गर्ने तीनवटै मोबाइलमा फोन गएपनि उठाएनन् ।
प्रदेशस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादवले मिश्रको काज सरुवा फिर्ताबारे आफुले जानकारी पाएपनि आवश्यक निर्णय गर्ने अधिकार आफुसँग नरहेको प्रतिक्रिया दिए ।
प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले प्रदेश जनस्वास्थ्य प्रयोगशाला र मातहतको विषय स्वास्थ्य मन्त्रालय अन्तरगतको विषय भएको बताउँदै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय बाहेकको विषयमा बोल्न नमिल्ने जवाफ दिए ।
मिश्रको काज सरुवा फिर्ता र प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वबारे प्रदेशका प्रमुख सचिवसँग न्यूज आजले सोध्यो, ‘संघ सरकारले आफ्ना कर्मचारीलाई फिर्ता बोलाउँदा प्रदेश सरकारले सहयोग नगरेको हो ?’
जवाफमा प्रमुख सचिव लोकनाथ पौड्यालले भने, ‘बाहिर गाइँगुइँ हल्ला चलेको हो । तर, अहिलेसम्म मेरो हातमा पत्र आइसकेको छैन । पत्र पाउने बित्तिकै पठाइदिन्छु ।’