समाज जोगाउन ध्यान–योगको छैन विकल्पः मन्त्री जयसवाल

जनकपुरधाम । मधेश प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले सामाजिक एकता कायम गर्न र समुदायमा भावनात्मक विकासका लागि ध्यान र योगको विकल्प नरहेको बताएका छन् ।

गुरु पुर्णिमाको अवसरमा गत आइतबारदेखि जनकपुरधामस्थित कृष्ण मन्दिरको सभाहलमा डायमण्ड वल्र्डवाइड (ट्रेनिङ इन्ष्टिच्यूट) ले आयोजना गरेको ध्यान–योग सप्ताहको समापन समारोहलाई शनिबार बिहान सम्बोधन गर्दै मन्त्री जयसवालले वर्तमान परिप्रेक्ष्यमा सामाजिक एकता र समुदायमा भावनात्मक विकासको आवश्यक्तालाई औंल्याए ।

नयाँ पुस्ताका युवाहरुलाई सुधारको बाटोमा डोर्याउन र मानवको शारीरिक, मानसिक स्वास्थ्यसँगै संस्कृतिको रक्षा गर्न पनि ध्यान र योगको प्रबद्र्धन आवश्यक रहेको मन्त्री जयसवालको जोड थियो । उनले यसका लागि आफुले नेतृत्व सम्हालेको मन्त्रालयमा नीतिगत योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

‘यो अतुलनीय लाभको आधार हो’ मन्त्री जयसवालले भने, ‘बिहान ब्रम्हमुहुर्तमा ओछ्यान छोडेर योगमा सहभागी हुनुको फायदावारे वर्णन गर्न सकिदैन । यतिमात्रै होइन, यसले रोगबाट मुक्ति दिलाउने त छँदैछ मानसिक स्वास्थ्य र सामाजिक भावनाको विकासमा अतुलनीय योगदान गर्न सक्छ ।’

कार्यक्रममा हंसपुर नगरपालिकास्थित आयुर्वेद औषधालयका प्रमुख रामछविला रायले सरकारले गाउँ गाउँमा निर्माण गरिरहेको सामुदायिक भवनको संरचनामा रुपान्तरण ल्याउनुपर्ने सुझाव दिए ।

सामुदायिक भवनको नाउँमा बनाइने कोठाहरु लगानीको हिसाबले उपयोग पनि हुन नसकिरहेको सन्दर्भमा खुल्ला हल निर्माण गरिदिए नियमित योगसहित अनेक प्रयोजनमा उपयोग गर्न सकिने उनको सुझाव थियो ।

रायको सुझावलाई नीतिगत रुपमा सम्बोधन गर्ने मन्त्री जयसवालले प्रतिबद्धता व्यक्त गरे ।

ध्यान र योग सप्ताहको आयोजक संस्था डायमण्ड वल्र्डवाइडका प्रमुख एवम् योगा इभ्यालुएटर जगदीश ठाकुरले समाजलाई असल बाटोमा डोर्याउन ध्यान र योगको माध्यमलाई अभियानको रुपमा अघि बढाउने अभियानमा आफु अघि बढिसकेको बताए ।

लागु औषधले नयाँ पुस्तामा पाइरहेको प्रश्रयप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै ठाकुरले मधेश प्रदेशका सबै जिल्ला, पालिका र वडा, बस्तीसम्म नियमित ध्यान र योग कार्यक्रम चलाउन अनुरोध गरे । तस्बिरः आरके रंजित/न्यूज आज

Facebook Comments Box