तत्काल सुल्झिने भयो आँखा अस्पतालको लफडा

जनकपुरधाम । पदाधिकारी र कर्मचारीबीचको तनावले चार दिनदेखि स्वास्थ्य सेवा अवरुद्ध रहेको जानकी आँखा अस्पतालको लफडा तत्कालका लागि सुल्झिनेगरी सहमति बनेको छ ।

मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधनप्रसाद सिंहको अगुवाइमा बसेको समन्वय बैठकले यस्तो सहमति बनाउन सफल भएको हो ।

बैठकमा दुवै पक्षले आ–आफ्नो दावी र अडान राखेको थियो । मन्त्रालयको तर्फबाट सकेसम्म एक प्रकारको सहमति कायमगरी सेवा सुचारु गराउने प्रयास थियो ।

बैठकको अन्त्यमा जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोज साहले प्रस्ताव राखे, ‘अस्पतालमा यो पक्ष वा त्यो पक्ष जसको गल्ती भएपनि विवाद उत्कर्षमा पुगिसकेको स्थिति छ । यस्तो अवस्थामा अस्पतालको गरिमा बचाउन दुवै पक्षको गम्भिरता आवश्यक छ । यसका लागि प्रदेश सरकारले एक छानबिन समिति गठन गर्ने र उक्त समितिको प्रतिवेदनको आधारमा दोषी ठहर हुनेलाई कानुन बमोजिम कारवाहीको सिफारिस गर्नेगरी तत्काल अस्पतालको स्वास्थ्य सेवा सुचारु गर्नुपर्छ ।’

मेयर साहको प्रस्ताव अनुसार छानबिन समितिले प्रतिवेदन ल्याउँदासम्म तत्कालका लागि पुर्ववत् अवस्थामा काम गर्ने डा.अमित यादव, डा. सन्तोष साह लगायत चिकित्सक तथा कर्मचारीहरुलाई यथास्थितिमा काम गर्न दिनुपर्छ ।

मन्त्री सिंहले मेयर साहको उक्त प्रस्तावप्रति पूर्ण सहमति जनाइसकेपछि आन्दोलनरत पक्ष पनि सहमत भएको थियो । अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष एवम् आन्दोलन पक्षधर झाले बैठकमा आएको प्रस्ताव समस्या समाधानको आधार देखिएको उल्लेख गर्दै आफुहरु मन्त्रीको अग्रसरताप्रति भरोसा राखेर सहमत भएको न्यूज आजलाई बताए ।

मधेश भवनस्थित भौतिक पूर्वाधार मन्त्रालयको सभाहलमा बसेको सर्वपक्षीय समन्वय बैठकमा मन्त्री सिंहसँगै राज्यमन्त्री केशव राय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. प्रमोद यादव, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु भुसाल, जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवा, रेडक्रसका जिल्ला सभापति एवम् आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश प्रसाद सिंह सहभागी थिए ।

अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष धिरेन्द्र मोहन झा, अस्पताल सुधार संघर्ष समितिका सदस्य एवम् संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व राज्यमन्त्री रामसिंह यादव, डा. रामजी राय र डा. रामज्ञान यादव पनि बैठकमा सहभागी थिए ।

Facebook Comments Box

Author Profile

सुरेशकुमार यादव
सुरेशकुमार यादव