डा.पण्डितलाई निर्देशक पदबाट हटाइयो
जनकपुरधाम । डा. रामनरेश पण्डितलाई प्रादेशिक अस्पताल, जनकपुरको निर्देशक पदबाट हटाइएको छ ।
संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पण्डितलाई जनकपुरबाट फिर्ता बोलाएर अन्यत्र हाजिर गराइदिएपछि उनी पदबाट मुक्त भएका हुन् ।
यस अघि यस अस्पतालको निर्देशक पदमा नियुक्त गर्ने मधेश प्रदेशस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार यो अस्पतालबाहेक अन्यत्र सरकारी अस्पतालमै हाजिरी गरेलगत्तै डा. पण्डितको निर्देशक पद स्वतः निष्क्रिय भएको हो ।
गत फागुनको अन्तिम साता मन्त्रालयले काठमाडौंको थापाथलीमा सञ्चालित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा डा. पण्डितलाई सरुवा गरिदिएको थियो । मन्त्रालयको उक्त निर्णयलाई अटेर गरेपछि डा. पण्डितलाई जनकपुरस्थित प्रादेशिक अस्पतालमा रहेको निर्देशक पदबाट हटाइएको मन्त्रालयका एक जना अधिकृतले जानकारी दिए ।
डा. पण्डितले मन्त्रालयको निर्णयलाई बेवास्ता गरी जनकपुरमा बसेको समाचार न्यूज आजमा प्रकाशन भएपछि गत मंगलबार मन्त्रालयले लिखित पत्र थमाउँदै २४ घण्टाभित्र मन्त्रालयमै हाजिर हुन उनलाई निर्देशन दिएको थियो ।
बुधबार केही राजनीतिकर्मीहरुको साथ लिएर त्यहाँ पुगेका उनले जनकपुरमै बस्न पाउनेगरी व्यवस्था गराउन अनेक उपाय खोजे तर सफल हुन नसकेको ती अधिकृतले जनाएका छन् ।
कुनै राजनीतिक पहुँचले काम नगरेपछि बिहीबार डा. पण्डित काठमाडौंको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हाजिर भएका छन् । उनले शुक्रबार पनि सोही अस्पतालमा पुगेर हाजिरी गरी कामकाजमा खटेको त्यहाँस्थित सूचना अधिकृत रानु थापाले न्यूज आजलाई जानकारी दिइन् ।