आँखा अस्पतालमा अध्यक्ष भर्सेज कोषाध्यक्ष

जनकपुरधाम । नेपाल रेडक्रस सोसाइटी अन्तरगत सञ्चालित जानकी आँखा अस्पताल सञ्चालक समितिका अध्यक्ष नरेश प्रसाद सिंह र कोषाध्यक्ष धिरेन्द्र मोहन झाले बिहीबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी आ–आफ्नो दावी पेश गरेका छन् ।
अध्यक्ष सिंहले अस्पताल परिसरमा कोषाध्यक्ष झाको नेतृत्वमा जारी आन्दोलनको विरोध गरेका छन् । यता, कोषाध्यक्ष झाले टाढाबाट उपचारका लागि आउने बिरामीलाई स्वास्थ्य सेवाबाट बञ्चित गरेको भन्दै अध्यक्ष सिंह र निर्देशक आशिष बोहोरालाई निलम्बन गरी कारबाही गर्नुपर्ने माग गरे ।
पत्रकार सम्मेलनमा गत मंगलबार आन्दोलनको नाउँमा अस्पतालमै कार्यरत चिकित्सक तथा कर्मचारी उपर हातपात भएको विषयलाई अध्यक्ष सिंह तथा निर्देशक बोहोरा पक्षले जोडतोडका साथ उठान गर्ने पर्यत्न गरेको छ ।
अर्को पत्रकार सम्मेलनमा कोषाध्यक्ष झा पक्षले निर्देशकलाई लठैतको रुपमा प्रयोग गरेर अध्यक्ष सिंहले अस्पताललाई एकलौटी रुपमा उपभोग गर्दै भ्रष्टाचारको चरमसीमा नाघेको आरोप लगायो । उनीहरुले उच्चस्तरीय छानबीनगरी दोषीहरुलाई कानुन बमोजिम कारबाहीको माग गरेका छन् ।
आन्दोलित पक्षले अस्पताल परिसरमै टेबुल राखेर बिरामीलाई जाँच गरिरहेको छ भने अध्यक्ष र निर्देशक पक्षले सुरक्षाको बहाना बनाएर अस्पतालमा आउनै चाहेका छैनन् । अस्पतालमा पदाधिकारी तथा कर्मचारीको विवादले सेवा अवरुद्ध भएको जानकारी अभावमा टाढाबाट आउने बिरामीहरुलाई आन्दोलनरत (झा) पक्षले चौरमै जाँचको व्यवस्था मिलाइरहेको छ ।
अध्यक्ष सिंह पक्षले उठाएका प्रमुख मागहरु
१. अस्पतालभित्र चिकित्सक, कर्मचारीमाथि हातपात गर्नेहरुलाई कडा कारबाही ।
२. सुरक्षित वातावरणमा अस्पताल सञ्चालन गर्न वातावरण बनाउनुपर्ने ।
३. विषम परिस्थितिमा पनि अस्पतालले राम्रो आम्दानी गरेको दाबी ।
कोषाध्यक्ष झा पक्षले उठाएका प्रमुख मागहरु
१. जानकी आँखा अस्पतालमा काम गरेका चिकित्सकहरुको तलब तथा भत्ता प्रदान र सेवामा पुनर्बहाली ।
२. नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाको सदस्यता लिन इच्छुक व्यक्तिहरुलाई तुरुन्त प्रदान गर्नुपर्ने ।
३. अध्यक्ष सिंह र निर्देशक बोहोरालाई बर्खास्त गर्नुपर्ने ।
४. आँखा अस्पताल र रेडक्रस सोसाइटी धनुषा शाखाको भ्रष्टाचार छानबीन गर्न समिति गठन गर्नुपर्ने ।
५. अस्पताललाई रेडक्रस सोसाइटीको मातहतबाट हटाएर स्वायत्त संस्था कायम गर्नुपर्ने ।
६. अस्पतालको वर्तमान समिति विघटनगरी मधेश प्रदेश सरकारको मातहतमा संचालन गराउनुपर्ने ।