आमाको मृत्यु, बुवा थुनामा, ६ वर्षीय बालकलाई विजोग

जनकपुरधाम । जनकपुरधाम –४, मुरली चोकस्थित डेफोडिल्स स्कुलमा छुट्टीको घण्टी बजेपछि ६ वर्षीय जयांशु निकै खुशी भयो । आमाको मायाबाट टाढिएर त्यसै पनि स्कुल जान साना नानी–बाबुका लागि यातना नै हो । जयांशुलाई विस्तारै विद्यालय जान अभ्यस्त बनाउँदै थिइन्, आमा रिंकीले ।

गत मंगलबार विद्यालयबाट घर फर्किने बेला साथीहरुको अभिभावक आए, लिएर गए । जयांशुले आमाको पर्खाइमा उज्यालै अनुहार लिएर केही वेरसम्म प्रतिक्षा गरे । आमा त आउन सकिनन्, भान्जा (जयांशु) लाई लिन आएका मामालाई देखेपछि अझ बढी खुशी भए ।

जयांशुले आमा किन नआएको भनि सोध्यो, मामाको घाँटी अड्कियो, बोल्न सकेनन् । जयांशुले आमावारे सोधेको जवाफ नआएपनि प्रवाह गर्न सकेन । अबोध बालकले के नै सोच्थ्यो, आखिर घर पुगेपछि आमा त भेट्ने नै हो ।

तर, जयांशु विद्यालयबाट फर्केर आमालाई भेट्न घरमा पुग्न पाएन । उसलाई तत्काल आफन्तको घरमा लगियो । खाजा दिइयो । आमा आउँदैछ भनि ढाँटियो । आमा आउन् कसरी ? रिंकीले त अबोध छोरालाई सँधैको लागि त्यतिबेलै बायबाय भनिसकेकी थिइन्, जतिबेला जयांशु स्कुलको लागि घरबाट बुवासँग निस्केको थियो ।

अहिले जयांशुकी आमा (रिंकी) को शव पनि खरानीमा परिणत भइसकेको छ भने बुवा (मनिष चौधरी) जिल्ला प्रहरी कार्यालयको थुनुवा घरमा कैद छन् । छोरालाई बिहानको खाना खुवाइसकेर स्कुल पोशाकमा तयार गरी पढ्न भनेर पठाइसकेपछि रिंकीले सुत्ने कोठामै पंखामा पासो लगाएर सँधैका लागि विदा भइदिइन् ।

मनिषले छोरा जयांशुलाई विद्यालय पुर्याएर फर्केपछि एकैछिन अघि सँगै रहेकी रिंकीलाई झुण्डिएको देखेर अबाक हुन पुगे । उनको पहिल्यैदेखिको व्यवहारको आधारमा ससुराली पक्षले रिंकीलाई मारेको अभियोग लगाएपछि प्रहरीले मनिषलाई नियन्त्रणमा लिएर थुनामा राखेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रिंकीलाई हत्या गरेको आरोप

घटना हुनुभन्दा तीन दिन अघि रिंकी माइति (उदयपुरको कटारी) बाट फर्केकी थिइन् । बुवा चन्देश्वर जयसवालको स्वास्थ्य अवस्था बिग्रेको जानकारी पाएपछि माइती पुगेर परिवारलाई भेटेकी उनले आफ्नो घर सम्हाल्नुपर्ने भन्दै फर्की आइन्, आज दुनियाँबाटै विदा भएको वृद्ध आमाले विलौना गर्दै सुनाइन् ।

रिंकी झुण्डिरहेकै अवस्थामा घटनास्थल आइपुगेका भाई अमनले शवको प्रकृति देखेर पनि बहिनी आफै झुण्डिएको भनेर विश्वास गर्न सकिरहेका थिएनन् । भिनाजु (मनिष) को व्यवहारबाट आजित अमनले घटनास्थलमा भेट्ने प्रहरीदेखि स्थानीय सबैलाई आफ्नी बहिनीको हत्या गर्नेहरुलाई नछोड्न गुहार लगाइरहेका थिए ।

‘मेरी बहिनीलाई मैले चिनेको छु । रिंकीले यतिसम्मको हर्कत गर्न सक्दै सक्दैन । मनिषले हो मारेको’ अमनले भने । दिउँसै नशा लिने मनिषले दिनदिनै ससुरालीबाट पैसा माग्ने गरेको आरोप अमनको छ । ‘तपाईहरु (स्थानीय र प्रहरी) ले मेरी बहिनीलाई न्याय दिनुपर्छ । अरु म केही जान्दिन’ अमनले बहिनी गुमाएको पीडा पोख्दै गुहार लगाइरहेका थिए ।

मृतक रिंकीको माइतीपक्षीय परिवारले केही बेरसम्म प्रहरीलाई शव निकाल्ने कार्यमा अवरोध समेत गरे । उनीहरुले रिंकीको मृत्युलाई आत्महत्या नठहर्याइदियोस् भन्ने विषयमा गम्भिर देखिन्थे । घटना विरुद्ध अमनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराउने प्रक्रियामा लागेका छन् । प्रहरीले पोष्टमार्टम रिपोर्ट आएपछि अनुसन्धानको प्रक्रियाले क्लियर बाटो लिने भन्दै अन्य कोणहरुबाट सुक्ष्म अनुसन्धान जारी राखेको बताइरहेको छ ।

मृतकका काका राजु गुप्ताले सात वर्ष अघि अन्माएर पठाएकी छोरी ससुराघरमा कहिल्यै सुखसँग बस्न नसकेको बताए । उनले भने, ‘भतिजीलाई जहिलेपनि यातना दिने काम मात्रै भइरहयो । म आफै दर्जनौंपटक आएर ज्वाइँलाई सम्झाएको र स्थानीय समाजको रोहबरमा पञ्चायती गरेको छु । तर, आज भतिजीलाई जोगाउन नसकेकोमा पछुतो लागिरहेको छ ।’ उनले घटना प्रकृति र नातिको कुरा सुनेको आधारमा रिंकीको हत्या भएको आशंका गरे ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज