फर्जी पत्र देखाउने पण्डित केन्द्रमा तानिए

जनकपुरधाम । जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले फर्जी पत्र देखाएको भन्दै संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र हाजिर हुन ठाडो आदेश गरेको छ ।

नियम, प्रक्रिया बिनै मन्त्रालयका कर्मचारीलाई अलमलमा पारी पत्र बनाएर आफु प्रदेश सरकारको मातहत काम गरिरहेको दावी गर्ने डा. पण्डित झुठो साबित भएका हुन् । न्यूज आजले समाचार लेखेपछि उनलाई कारबाही स्वरुप संघीय मन्त्रालयले तानेको हो ।

गत फागुन २८ गते एक तह बढुवासँगै मन्त्रालयले पण्डितलाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग केन्द्रमा पदस्थापना गरेको थियो । तर, उनले मन्त्रालयको उक्त निर्णयलाई अटेर गरी आफुखुशी जनकपुर प्रादेशिक अस्पतालको निर्देशकको रुपमा काम गरिरहे ।

अस्पतालको सेवालाई प्रभावहिन बनाउने विषयलाई सञ्चार माध्यमले सार्वजनिक गर्न थालेपछि पण्डितले जागिर जोगाउन चोरबाटो प्रयोग गरी मन्त्रालयको पत्र दुरुपयोग गरेको आरोप लागेको छ ।

उक्त विषयलाई खोतल्दै जाँदा निरन्तर सार्वजनिक हुन थालेको समाचारको प्रभावले मन्त्रालयको ध्यान केन्द्रीत भएको र त्यसपछि पण्डितलाई केन्द्रमा झिकाइएको मन्त्रालयका एक अधिकृतले न्यूज आजलाई जानकारी दिए ।

गत मंगलबार मन्त्रालयले २४ घण्टे लिखित निर्देशन पठाएपछि केही राजनीतिकर्मीहरुको सहयोग लिएर पण्डित बुधबार मन्त्रालयमा हाजिर भएका थिए । उनलाई प्रक्रिया पुरा नगरी पत्रको दुरुपयोग गरेको विषयमा चेतावनी दिँदै दोहोर्याएर यस्तो कर्म नगर्न सचेत गराइएको ती अधिकृतले बताए ।

पण्डितले राजनीतिक पहुँचकै आधारमा पुनः मधेश प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहतमा काम गर्न पाउनेगरी संघीय स्वास्थ्य मन्त्रालयबाट पत्र प्राप्त गरेको बुझिएको छ । संघीय सरकारको मातहतका कर्मचारी भएपनि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालमै रहन उनले अनेक नेताहरुको ढोकामा पुगेका थिए ।

जनकपुरमा सञ्चालन गरेको निजी क्लिनिक तथा निजी अस्पतालमा काम गर्न पाउने उदेश्यले उनी संघीय सरकारबाट फुत्केर पनि जनकपुरमै जागिर कायम राख्न चाहेको प्रादेशिक अस्पतालका एक जना मेडिकल अधिकृतले बताए ।

आफु मातहतका कर्मचारी भएको र नाम उल्लेख भए भविष्यमा आफुलाई असर पर्ने भन्दै आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा ती अधिकृतले भने, ‘पण्डितले जनकपुर छोड्न नचाहेको मुख्य दुई कारण छन् । पहिलो, उनले निजी अस्पताल र क्लिनिक चलाइराख्न चाहन्छन् र अर्को प्रतिष्ठानमा बस्न पाउँदा अनेक प्रकारले आर्थिक आम्दानीको लाभ लिन सक्छन् ।’

यी बाहेक उनको कुनै ध्येय नभएको ती अधिकृतको जिकिर छ ।

Facebook Comments Box