जानकी आँखा अस्पतालको समस्यावारे केन्द्रीय रेडक्रसले के भन्छ ?

जनकपुरधाम । पदाधिकारी र कर्मचारी विवादको कारण करिब एक हप्तादेखि तनावग्रस्त रहेको जानकी आँखा अस्पतालको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिइएको छ ।
स्थानीय समस्या स्थानीय स्तरबाटै समाधान हुनुपर्ने केन्द्रीय रेडक्रस सोसाइटीका अध्यक्ष प्राध्यापक सुदर्शन प्रसाद नेपालले बताए । ‘स्थानीयका लागि सञ्चालित अस्पतालमा स्थानीयले नै उत्पन्न गरेको समस्या समाधान गर्न स्थानीय प्रशासनले जिम्मा लिएको हो’ नेपालले न्यूज आजसँग भने ।
अस्पतालको समस्या पहिचानका लागि जिल्ला प्रशासन कार्यालयले तीन सदस्यीय छानबीन समिति गठन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी विष्णु भुषालको संयोजकत्वमा गठित छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयका डिएसपी रञ्जन अवा र जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत निरज श्रीवास्तव सदस्य छन् । उक्त समितिलाई १५ दिनको म्याद दिइएको छ ।
‘गत शुक्रबार समिति गठन भएको हो । हामीले निर्धारित समयभित्रै (साउन १८ गतेसम्म) तोकिएको जिम्मेवारी पुरा गर्नेगरी काम अगाडि बढाएका छौं’ छानबिन समितिका संयोजक भुषालले भने ।
जिल्ला प्रशासन कार्यालयले आँखा अस्पतालमा उत्पन्न भएको विवादको जडो पत्ता लगाउन समिति बनाएर काम अघि बढाइसकेको बताउँदै नेपालले भने, ‘उक्त समितिले पहिचान गरेको समस्यालाई सम्बोधन गर्न रेडक्रसले अन्तिम निर्णय लिने हो ।’ उनले थपे, ‘त्यस अघि जिल्ला प्रशासन कार्यालयबाटै समस्या समाधानको उपाय पनि निस्किने अपेक्षा हाम्रो छ ।’
केन्द्रीय रेडक्रसका अध्यक्ष नेपालले अस्पताल सञ्चालन समितिका अध्यक्ष नरेश प्रसाद सिंहको निष्क्रियताको कारण समस्या झांगिएको बताए । सिंहले त राजीनामा गरिसकेको भन्नुहुन्छ अनि उहाँको के दोष भन्ने न्यूज आजको जिज्ञासामा नेपालले प्रतिप्रश्न गरे, ‘राजीनामा गरेर हुन्छ ? समस्या निम्तिएपछि समाधान गर्नुको साटो पन्छिएर भाग्न मिल्छ ?’
सिंहले केही दिन अघि राजीनामा गर्न लागेको भन्दै आफुलाई एउटा कागजको टुक्रा थमाएको उल्लेख गर्दै नेपालले उक्त राजीनामा स्वीकार नगरी समस्या समाधान गर्न पठाएको बताए । ‘समस्या आइसकेपछि भाग्न मिल्दैन । राजीनामा नै गर्ने हो भने विधि प्रक्रिया मिलाएर आए हुन्छ नि ! त्यतिबेला अर्को विकल्प खोज्छौं’ उनले भने ।