अस्पताल ठीक गर्न नसक्ने डाक्टरले पत्रकारलाई ठीक गर्ने
जनकपुरधाम । न्यूज आजका सम्पादक सुरेश कुमार यादवलाई जनकपुर प्रादेशिक अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले धम्की दिएका छन् ।
समाचारको विषयलाई लिएर सोमबार राति १०:१४ बजेको समयमा ९८५४०२११३३ नम्बरले फोन गरी डा. पण्डितले यादवलाई ‘ठीक गरिदिने’ धम्की दिएका हुन् ।
फोनमा अस्पतालका निर्देशक डा. पण्डित र न्यूज आजका सम्पादक यादवबीच भएको कुराकानीः
पण्डितः तोरा सेटिङ बुझाइछौ, सेटिङ !
यादवः जी के बजैछी ?
पण्डितः ए…नै चिन्हले तो हमरा ?
यादवः जी अपने के बजैछी केकरा फोन कयलिय ?
पण्डितः तोरा सेटिङ बुझाइछौ ? (थप केही बोलेको स्पष्ट बुझिएन)
यादवः हेलो…हेलो….
पण्डितः नै सुनाइछौ, नै सुनाइछौ ? थम तोरा हम ठीक करैछियौ ।
……..फोन कट्यो ।
‘नै सुनाइछौ ? भनेर सोधेको बेला मैल डा. रामनरेश पण्डितको आवाज रहेको ठम्याएँ । उनी निकै हतास र क्रोधित भएर मसँग मोबाइल फोनमा संवाद गरी ठीक पारिदिने धम्की दिएको हो’ सम्पादक यादवले भने ।
पण्डितले फोनमा कुरा गरिरहँदा सम्भवतः मदिरापान गरिरहेको र तीनचार जनाको समूहमा बसेर फोनमा कुरा गरेको अनुमान यादवको छ ।
आफुसँग डा. पण्डितको एनटिसीकै प्रिपेड मोबाइल नम्बर सेभ रहेको र सोमबारै दिउँसो एक समाचारको सम्बन्धमा प्रतिक्रिया लिँदा पनि सोही नम्बरमा कुरा गरेको बताउँदै नयाँ (सेभ नरहेको) नम्बरबाट आएको फोन पहिचान गर्न ढिलो भएको उनले बताए ।
न्यूज आजले पछिल्लो करिब एक महिनादेखि प्रादेशिक अस्पतालमा भइरहेको लापरबाही र स्वास्थ्य उपचारका लागि अस्पताल पुग्ने व्यक्तिसँग हुने दुव्र्यवहारबारे नियमित रुपमा समाचार लेख्दै आएको छ ।
सोमबार समाचारकै सम्बन्धमा प्रतिक्रिया लिँदा डा. पण्डितले घमण्डी पारामा जवाफ दिँदै नियम, विधि जे भएपनि मिलाउन सके जहाँ बसेर पनि काम गर्न सकिने जवाफ दिएका थिए ।
समाचारको लागि प्रतिक्रिया लिएलगत्तै पण्डितले भनेको मिलाउने विषय प्रमाणित हुनेगरी संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पत्र पनि सम्पादक यादवको ह्वाट्एप नम्बरमा पठाइदिएका थिए । उक्त विषय समाचार बनेर प्रकाशन भएपछि पण्डित क्रोधित भएको हुन सक्ने अनुमान यादवको छ ।
अत्यन्तै क्रोधपुर्ण लवज प्रयोग गरेका डा. पण्डितले अपराधिक हर्कत गर्न सक्ने सम्भावनालाई आंकलन गरी सम्पादक यादवले तत्काल प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियालाई फोन गरी जानकारी गराउन खोजे । सिडिओको फोन उठेन ।
लगातार दुई पटक फुल घण्टी बजेपनि सिडिओको फोन नउठेपछि यादवले जिल्ला प्रहरी प्रमुख (एसपी) भुवनेश्वर तिवारीलाई फोन गरी पण्डितको बारेमा लेखिएको समाचार र उनले दिएको धम्कीबारेमा जानकारी गराए ।
एसपी तिवारीले राति सकेसम्म घर बाहिर ननिस्कन र त्यस्तै परे तत्काल आफुलाई फोन गर्न सुझाव दिएका छन् ।