अस्पतालकै निर्देशक सेटिङमा लागेपछि…

जनकपुरधाम । मधेश प्रदेश सरकारको मातहतमा रहेको जनकपुरधामस्थित प्रादेशिक अस्पताका निर्देशक डा. रामनरेश पण्डित सरकारी जागिरमा बसेर निजी अस्पताल चलाउने सेटिङमा लागेका छन् ।
डा. पण्डित संघीय सरकारको मातहतका कर्मचारी हुन् । उनलाई एक तह बढुवासँगै संघीय स्वास्थ्य मन्त्रालयले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा पदस्थापन गर्यो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालबाट सरुवागरी डा. पण्डितलाई थापाथलीमा पदस्थापन गरिएको पाँच महिना बितिसक्यो । तर, आजसम्म उनी तोकिएको कार्यालयमा हाजिर भएका छैनन् ।
सेटिङ मिलाउन सके सरकारले भनेकै ठाउँमा बसेर काम गरिरहन नपर्ने भनाई डा. पण्डितको छ । सरकारले खटाएको स्थानमा किन हाजिर नभएको भनि न्यूज आजले राखेको जिज्ञासामा डा. पण्डितले भने, ‘सेटिङ मिलाउन सक्नुपर्छ । जहाँ बसेर काम गरेपनि भयो ।’
दुई हप्ता अगाडी न्यूज आजले यसै विषयलाई आधार बनाएर समाचार लेखेको थियो । उक्त समाचारले तोकिएको ठाउँमा हाजिर हुन दबाव पुगेपछि डा. पण्डित सेटिङमा लागेका थिए । आफ्नो स्वार्थ (जनकपुरमा खोलेको निजी अस्पतालमा काम गर्ने योजना) पुरा हुनेगरी उनले काज सरुवा गराएका छन् ।

हालै संघीय सरकारका कर्मचारी डा. सञ्जय ठाकुर मधेश प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा सचिवको रुपमा सरुवा भएर आएका थिए । यहाँस्थित प्रादेशिक कर्मचारीहरुको अवरोधका कारण संघीय कर्मचारी भएकै कारण हाजिर हुन सकेनन् ।
न्यूज आजको समाचार र डा. ठाकुरले भोग्नुपरेको अवरोधबाट हच्किएका डा. पण्डितले सेटिङ मिलाउने दाउमा लागेका थिए । उनले गत असार २० गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट काजमा खटाइएको भन्ने आशय देखिने पत्र लिएर आएका छन् ।
उक्त पत्र देखाउँदै उनले भने, ‘सरकारले तोकेको ठाउँमा त काम गर्नैपर्छ तर सेटिङ मिल्यो भने जहाँ बसेपनि भयो ।’