उखु काट्ने हतियारले काटेर पूर्वमन्त्रीको हत्या

मलंगवा । सर्लाहीको चन्द्रनगर गाउँपालिका –१, रत्नपुरमा आइतबार मध्यरातमा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

रोप्नका लागि उखु काट्न प्रयोग गरिने धारिलो हतियारले टाउको, गर्दन र हातमा प्रहार गरी रायलाई उनको आफ्नै घरमा निर्मम हत्या गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन्द्र कुमार सिंहले जानकारी दिए ।

पञ्चायतकालिन समयमा राप्रपामा सक्रिय पूर्व सांसद एवम् राज्यमन्त्री भएर काम गरिसकेका यादव नम्र स्वभावका व्यक्ति थिए । ८१ वर्षीय उनको परिवारमा दुई छोरा र श्रीमति छन् ।

सर्लाहीको सदरमुकाम मलंगवा र काठमाडौंमा पनि घर भएका यादवको बसाई धेरैजसो काठमाडौंमै हुन्थ्यो । चन्द्रनगरको रत्नपुरमा उनको पुख्र्यौली घर र जग्गा जमिन रहेको छ ।

आइतबार खेत रोपाईँ सकेर गाउँमै भोजभतेर खाए । राति गाउँकै घरमा बस्ने योजना थियो । रात्रीभोजन सकेर विश्राम गर्ने बेलामा तीन जना व्यक्ति घरमा आए । पूर्व राज्यमन्त्री यादवले उनीहरुसँग कुरा गर्नुपर्ने बताउँदै आफ्ना खाना पकाउने सहयोगीलाई सुत्नका लागि छतमा पठाइदिए ।

बाहिरबाट आउने तीन जनासँगै यादवले केहीवेर कुराकानी गरे । त्यसको केही वेरपछि धारिलो हतियारले काटेर उनको हत्या भएको भन्ने जानकारी पाएको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएसपी दिपक श्रेष्ठले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । उनले पूर्वमन्त्री यादवका खाना पकाउने सहयोगीसँग सोधपुछको आधारमा पनि अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिए ।
यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । उनका सहयोगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।

घटनापछि प्रदेश प्रहरी प्रमुख डिआइजीको कमाण्डमा पनि घटनास्थलमा टोली पुगेको छ । त्यस्तै, अपराध अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको टोली पनि आइपुगेको डिएसपी श्रेष्ठले जानकारी दिए ।

पूर्वमन्त्री यादवका खाना पकाउने सहयोगीले अबेर राती कुरा गर्न भनेर आएका तीन जनालाई पहिल्यैदेखि नचिनेपनि अनुहार हेरेपछि चिन्न सकिने बताएका छन् । तालिमप्राप्त कुकुरसहितको टोलीले तत्कालै अनुसन्धान सुरु गरेकोले चाँडै सत्यतथ्य पत्ता लाग्नुका साथै अपराधीको पहिचान गर्न सकिने प्रहरीले विश्वास व्यक्त गरेका छन् ।

‘माननीयजी (पूर्वमन्त्री यादव) एकदमै नम्र र भद्र स्वभावका व्यक्ति थिए । उहाँको हत्या गर्नुपर्ने कुनै कारण बाहिरबाट देखिदैन’ महतोले न्यूज आजसँग भने, ‘गाउँमा राम्रो जग्गा जमिन भएका उनको मलंगवा र काठमाडौंमा पनि सुविधा सम्पन्न घर तथा पर्याप्त घडेरीहरु छन् ।’ घटनापछि गाउँमा सुरक्षाको दृष्टिकोणले त्रास बढेको उनले बताए ।

पूर्व मन्त्री यादवका आफ्नै भाई नागेन्द्र प्रसाद यादव मलंगवा नगरपालिकाका नगर प्रमुख हुन् । उनी तीन दाजुभाई छन् । उनका दुई छोरामध्ये एक काठमाडौंमा र अर्का अस्टे«लियामा बसेका छन् ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: