अस्पतालमा ताला, मैदानमा उपचार

जनकपुरधाम । अस्पताल सञ्चालन समितिको बखेडाले अलपत्र परेको जानकी आँखा अस्पतालमा पदाधिकारी र चिकित्सक÷कर्मचारी विभाजित भएका छन् ।
आइतबार एक पक्षले अस्पतालमा तालाबन्द गर्यो । अर्को पक्ष मैदानमै आवश्यक जोहो गरेर बिरामीको उपचारमा जुटे । रोचक विषय के भने, अस्पतालका आधिकारिक भनिएका चिकित्सक र कर्मचारीहरुले ताला लगाएर बिरामीलाई उपचार सेवा लिन बञ्चित गरिदिए । यता, प्रहरी र प्रशासनद्वारा अनाधिकृतको ट्याग लगाइएका चिकित्सक र कर्मचारीहरुले भने बिरामीलाई उपचार गरेर घर फर्काए ।

आन्तरिक विवादको कारण अचानक अस्पताल बन्द भएपनि जानकारीको अभावमा टाढा टाढाबाट बिरामीहरु उपचारका लागि आइपुगेका थिए । ‘हाम्रो विवादकै कारण टाढाबाट सेवा लिन आएका बिरामीहरुलाई उपचारबाट बञ्चित गर्नु त भएन’ जानकी आँखा अस्पतालमा कार्यरत (हाल आन्दोलनरत) डाक्टर अमित यादवले भने, ‘हाकिमले नै अस्पताल बन्द गरिदिएपछि हामीले मैदानमा उपचारको व्यवस्था मिलाउनु परेको हो ।’
डा. यादवले सहयोगी टिमको साथ लिएर अस्पताल परिसरमै आइतबार करिब साढे तीन सय बिरामीको आँखा उपचार गरेका छन् ।
अस्पताल सञ्चालन समितिले दुषित आर्थिक लाभ प्राप्त गर्ने उदेश्यले केही चिकित्सक तथा कर्मचारीलाई कानुन विपरित धपाउन खोजेपछि अस्पतालमा विवाद चर्केको स्थानीय राजनीतिकर्मीहरुको भनाई छ । उक्त समस्या समाधानको पहल गर्नुको साटो सञ्चालन समितिका अध्यक्ष नै गैरजिम्मेवार भइदिएपछि समस्या थप जटिल मोडमा पुगेको उनीहरुको आरोप हो ।

अस्पताल सञ्चालन समितिका अध्यक्ष नरेश प्रसाद सिंहले दुई हप्ता अगावै आफुले राजीनामा गरिसकेको भन्दै अस्पतालको वर्तमान अवस्थासँग कुनै सरोकार नभएको गैरजिम्मेवारपूर्ण जवाफ दिन्छन् । यता, प्रहरी र प्रशासनले भने उनकै निर्देशन बमोजिम काम गर्ने चिकित्सक र कर्मचारीलाई तनाव दिने गरेको गुनासो अर्को पक्षको छ ।
अस्पताल सञ्चालन समितिका अध्यक्ष र उपाध्यक्ष एउटै व्यक्ति हुन् । दुवै पद धारण गरेका सिंहले न्यूज आजसँगको कुराकानीमा आफुले दुई हप्ता अगाडी नै राजीनामा गरिसकेको बताएका छन् । उनको भनाईलाई आधार मान्ने हो भने सञ्चालन समितिका अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा कोषाध्यक्षको नेतृत्वमा अस्पताल सञ्चालन हुनुपर्ने हो ।
प्रहरीले भने कोषाध्यक्ष नै समितिबाट हटाइएको बताइरहेको छ । ‘कोषाध्यक्ष त अब हुनुुहुन्न’ धनुषा जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीले न्यूज आजसँग भने, ‘अध्यक्षले राजीनामा गरेको मलाई थाहा भएन । तर, कोषाध्यक्षलाई हटाइसकेको सुनेको छु ।’ कोषाध्यक्षलाई कसले कुन विधि प्रयोग गरेर हटायो भन्ने जिज्ञासामा एसपी तिवारीले अनभिज्ञता प्रकट गरे ।
यता, कोषाध्यक्ष धिरेन्द्रमोहन झा आफुलाई अस्पताल सञ्चालन समितिबाट हटाइएको भनेर सुन्दा आश्चर्यचकित भए ।
‘अस्पतालमा उपचार सेवा लिन आउने गरिब, विपन्न नागरिकले तिरेको रकममध्ये एक करोड रुपैयाँ हिनामिना गर्ने अध्यक्षलाई कारबाही हुनुपर्ने माग लिएर म आन्दोलनमा छु’ झाले न्यूज आजसँग भने, ‘भ्रष्टाचारीलाई लखेट्नुपर्ने निकायबाट मलाई नै हटाइएको भन्नु लज्जास्पद हो ।’
कोषाध्यक्ष झाले धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहाको पूर्वी भागमा बस्ने जनतासँगै भारत बिहारका विभिन्न क्षेत्रमा बसोबास गर्ने मानिसहरुमा जानकी आँखा अस्पतालप्रति आस्था र विश्वास रहेको सुनाए ।
‘यस्तो राम्रो अवस्थामा चलिरहेको अस्पतालको आम्दानीमा आँखा लाउने गिरोहले रेडक्रसलाई प्रभावमा पारेर अनेक षडयन्त्र गरिरहेको छ’ झाको आरोप छ ।
अस्पतालमा पाँच वर्षदेखि कार्यरत डा. अमित यादवले अस्पतालको आम्दानीलाई दुरुपयोग गर्ने कार्य विरुद्ध बोल्न थालेपछि आफु मेडिकल डाइरेक्टर र अध्यक्षको निसानामा परेको गुनासो गरेका छन् ।
‘उनीहरु तैँ चुप मै चुपको फर्मुलामा अस्पतालको आम्दानी मास्न तल्लिन छन्’ डा. अमित भन्छन्, ‘यो गलत हो । जनताको सम्पत्ती मास्न पाइँदैन भनेर बोलेपछि मलाई जसरी पनि हटाउने प्रपञ्च सुरु भयो ।’
आफुले न्याय नपाएसम्म सडकमै उपचार गर्नुपरे गर्ने तर, संघर्षबाट पछि नहट्ने डा. अमितको अडान छ ।