‘उपेन्द्र, विमलेन्द्रहरु मुख्यमन्त्री बन्नुपर्ने थियो’
वकालत संघीयताको गर्ने । संघीयता बलियो हुनुपर्छ भन्ने । तर, आफु चाहीँ संघ या भनौं केन्द्रिकृत राजनीतिमै आफ्नो स्थान बनाउन मरिहत्ते गर्नु यो कस्तो संस्कार हो ?
जनकपुरधाम । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीयताप्रति जनतामा नकारात्मक सोच निर्माण हुनुको पछाडी नेताहरुकै कमजोरी भएको टिप्पनी गरेका छन् ।
‘यो कुरा सही हो कि गणतन्त्र र संघीयताप्रति जनतामा नकारात्मक धारणा बन्दै गएको छ । तर यसका लागि जनता होइन बरु नेताहरु नै दोषी हुन्’ मंगलबार बिहान न्यूजआज डटकमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै सभामुख मण्डलले भने, ‘वकालत संघीयताको गर्ने । संघीयता बलियो हुनुपर्छ भन्ने । तर, आफु चाहीँ संघ या भनौं केन्द्रिकृत राजनीतिमै आफ्नो स्थान बनाउन मरिहत्ते गर्नु यो कस्तो संस्कार हो ?’
सभामुख मण्डलले मधेश प्रदेशको सन्दर्भमा भन्नुपर्दा उपेन्द्र यादव, विमलेन्द्र निधि, रघुवीर महासेठ जस्ता नेताहरु मुख्यमन्त्री हुनुपर्ने बताए । एउटा प्रदेशमा विकास र परिवर्तनको नमूना देखाउन शिर्ष नेताले नेतृत्व लिनुपर्ने आवश्यक्ता उनले औंल्याए ।
मधेश प्रदेश नीति आयोगका पूर्व उपाध्यक्ष प्राध्यापक डा.भोगेन्द्र झाले भारतको राजनीतिक इतिहासलाई केलाउँदै जवाहरलाल नेहरु प्रधानमन्त्री हुँदा उनका समकक्षी नेताहरु प्रान्तको नेतृत्व गर्दै मुख्यमन्त्रीको भूमिका निर्वाह गरेको उल्लेख गरे । उनले भने, ‘अघिल्लो कार्यकालमा मोहम्मद लालबाबु राउत बौद्धिक वर्गका हुनुुहुन्थ्यो । तर, उनको मन्त्रिपरिषद्मा कोही उपेन्द्र यादवका, कोही महन्थ ठाकुरका, कोही राजेन्द्र महतोका अनि कोही महेन्द्र यादवका मुख्यमन्त्रीहरु भएर उभिदिए । त्यसैले राउतले चाहेर पनि परिणाम दिन नसकेकै हो ।’
मधेश प्रदेशका सांसद एवम् जसपा नेपालका उपनेता रामाशिष यादवले पनि गणतन्त्र र संघीयता उपर खतराको घण्टी बजिरहेको स्वीकार गरे । ‘संघीयतालाई बलियो बनाउन सकिए मात्र जनअधिकारको सुरक्षा सम्भव छ’ सांसद यादवले भने, ‘राजनीतिले समाजलाई मार्ग निर्देश गर्ने हो । राम्रो समाजले राम्रो राजनीतिलाई जन्म दिन्छ । राजनीतिक नेतृत्वप्रति विश्वासमा कमी आएकै हो जनतामा । तर, राजनीतिकर्मीले नै यो गम्भिर परिस्थितिलाई मननगरी निकास दिन सक्नुपर्छ ।’
मधेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जनहितको सवालमा संसद र मन्त्रिपरिषद् गम्भिर हुन आवश्यक रहेको बताए । सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वबाट माथि उठेर यतिबेला संघीयताप्रति उब्जिरहेको अविश्वासको वातावरणलाई करेक्सन गर्न आवश्यक रहेको उनले बताए ।
पत्रकार श्यामसुन्दर शशिले मधेशको नेतृत्वले मुद्दाप्रति इमान्दारीता देखाउन नसक्दा जनविश्वास घट्न पुगेको टिप्पनी गरे । हिजो जुन मुद्दा लिएर जनताको बीचबाट अनुमोदित भएर सत्तामा पुगे त्यही मुद्दालाई आज छोडेर अघि बढ्ने अवस्था आउँदा राजनीतिक नेतृत्वप्रति अविश्वासको वातावरण पैदा भएको उनको भनाई थियो ।
यी परिस्थितिमा जनहितका लागि निष्पक्ष भएर पत्रकारिता गर्न आवश्यक रहेको भन्दै सभामुख मण्डल, सांसद यादव, प्राध्यापक डा.झा, आमसञ्चार प्राधिकरण अध्यक्ष यादव र पत्रकार शशिले पेशागत पत्रकारितालाई प्रबद्र्धन गनुपर्ने धारणा राखे । उनीहरुले न्यूजआजप्रति विश्वास व्यक्त गर्दै मधेशको समग्र विषयमा सशक्त भएर कलम चलाउन आग्रह गरे ।