‘न पार्टीमा सिस्टम आयो, न सिस्टममा पार्टी’
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बनेको पनि तीन वर्ष पुगिसक्यो । आजसम्म यो पार्टी प्रणालीमा चल्न सकेको छैन ।
पार्टीका वरिष्ठ नेता महन्थ ठाकुरलाई तत्काल नव गठित पार्टीका अध्यक्षको रुपमा चयन गरिएपनि नेतृत्व तहमै पद बाँडफाँटको विवाद साम्य हुन सकेन । पदीय संघर्षकै क्रममा लोसपा निर्माण भएको करिब दुई वर्षपछि अर्का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी नै छोडेर जानुपर्ने अवस्था आयो ।
कुनै बेला मधेश केन्द्रीत विभिन्न ६ वटा राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टी (राजपा) नै जसपामा समाहित हुँदै पुनः लोसपा भनेर अलग दल बनाउन पुग्यो ।
तर, तत्कालिन राजपाका नेताहरु सबै एकैठाउँमा अटाउन सकेनन् । नेतृत्व तहमै रहेका नेताहरु छिन्नभिन्न भएपछि मातहतको संगठन एकत्रीत हुने कुरै भएन । यसको असर आजसम्म यो पार्टीले भोगिरहेको देख्न सकिन्छ ।
महन्थ ठाकुरको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा), राजेन्द्र महतोको सद्भावना पार्टी, शरदसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा), महेन्द्र रायको तराई मधेश सद्भावना पार्टी (तमसपा), राजकिशोर यादवको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) र अनिल झाको नेपाल सद्भावना पार्टी (आनन्दी देवी) मिलेर राजपा बनेको थियो ।
विभिन्न ६ राजनीतिक दल मिलेर पनि मधेशको अधिकारका लागि आवश्यक शक्ति नपुगेको महसुस भएपछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर जनता समाजवादी पार्टीको निर्माण गरियो ।
आखिर त्यो पनि टिक्न सकेन र फेरि जसपा नेपाल तथा लोसपा नेपालको रुपमा नेताहरु विभाजित भए ।
अहिले जसपा र लोसपमा पनि सिमित रहन सकेनन्, मधेश अधिकारका लागि संघर्षमा ओर्लिएका नेताहरु । ती नेताहरुलाई खोज्ने हो भने आधा दर्जन पार्टीमा विभाजित भएको देख्न सकिन्छ ।
उपेन्द्र यादव जसपा नेपालमा छन् । उपेन्द्रका सहयात्री अशोक राई, रेणु यादवहरु अलग्गै पार्टीको रुपमा जसपा बनाएर सरकारमा छन् । महन्थ ठाकुर र शरदसिंह भण्डारीहरु लोसपामा रहेर सरकारमै छन् ।
अनिल झा गुमनाम भएका छन् । राजेन्द्र महतो छुट्टै संघर्ष गर्दै सडकमा छन् । महेन्द्र राय माओवादीमा लागेर प्रतिपक्षमा भेट्न सकिन्छ ।
किन सिस्टममा आएन लोसपा ?
लोसपाका वरिष्ठ उपाध्यक्ष हुन् जितेन्द्र सोनल । अहिले उनी मधेश प्रदेशसभाका सदस्यको जिम्मेवारीमा पनि छन् । तर, ९ सदस्य रहेको लोसपाको मधेश प्रदेशसभा संसदीय दलमा सोनलको केही चल्दैन ।
हालै लोसपाबाट एक जना मधेश सरकारमा मन्त्री भएको प्रसंगमा चर्चा गरौं । समान्यतया दलीय प्रणालीमा प्रदेश सरकारमा सहभागी हुने भएपछि संसदीय दलको बैठक बसेर कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल हुनुपर्ने हो ।
समय अभाव छ भने दलका नेताले निर्णय गरेर तत्काल पठाउने र, पछि दलको बैठक बसेर अनुमोदन गर्नुपर्ने हो । तर, मधेश प्रदेशसभाको लोसपा संसदीय दलमा त्यस्तो केही गर्नुपर्दैन ।
लोसपा दलका नेता अभिराम शर्मा फौजदारी अभियोग लागेर फरार रहेको अवस्था छ । उनको अनुपस्थितिमा उपनेता उपेन्द्र महतो कार्यवाहक नेताको रुपमा काम गरिरहेका छन् । पछिल्लो पटक जनमत नेतृत्वको सरकारमा लोसपाबाट पनि एक जना मन्त्री हुने भएपछि दलको बैठकमा छलफल हुनुपर्ने हो । तर, त्यस्तो भएन ।
लोसपाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत रहेका प्रदेशसभा सदस्य सोनलले पारिवारिक कामको सिलसिलामा एक महिना भारतको मेदान्ता अस्पताल बसेर दुई दिन अघि स्वदेश फर्किएका छन् ।
न्यूज आजसँग उनले भने, ‘म भारत जानु अघि हाम्रो पार्टी लोसपा संघमा र प्रदेशमा पनि प्रतिपक्षमा थियो । म आउँदा दुवै सरकारमा एक–एक जना मन्त्री भइसके ।’
आफु भौतिक रुपमा मुलुकभित्र नभएपनि सरकारमा जाने भएपछि समान्य जानकारी आउनुपर्ने अपेक्षा राखेका सोनलले भने, ‘यहाँ (लोसपामा) त कुनै सिस्टम नै भएन ।’
‘त्यस्तो केही हुँदैन । पार्टी अध्यक्षजीले फलानाको नाम भेजदेना भनेर निर्देशन गर्नुभो मैले उपनेताको हैसियतले लेखेर सरकारमा पठाइदिएँ ।’
भोली (आइतबार) पार्टीका अध्यक्ष र नेताहरुसँग बसेर पार्टीको सिस्टमबारे कुरा गर्ने सोनलले जानकारी दिए । यता, मधेश प्रदेशसभा सदस्य एवं दलका उपनेता उपेन्द्र महतोले प्रदेशमा सोनलसँग सल्लाह गरिरहनुपर्ने आवश्यक्ता नै नरहेको बताउँछन् ।
‘सोनलजी प्रदेशसभामा एक्लै हो । जम्मा ९ जनामा हामी ६ जना (अभिराम शर्मा, उपेन्द्र महतो, रानी कुमारी तिवारी, रुपा यादव, रमेश प्रसाद कुर्मी र रामबाबु यादव) एक ठाउँमा छौं । दुई जना (जयनुल राईन र रमिता प्रधान) शरदसिंहजीका व्यक्ति हुन् । यस्तो अवस्थामा दलले गर्ने निर्णयमा जितेन्द्र सोनलजीसँग के सोधिरहनुपर्यो ?’ महतोको भनाई छ ।
पार्टीले सरकारमा मन्त्री पठाउँदा दलमा छलफल गर्नुपर्ने व्यवस्था होला नि ! न्यूज आजको जिज्ञासामा महतोले भने, ‘त्यस्तो केही हुँदैन । पार्टी अध्यक्षजीले फलानाको नाम भेजदेना भनेर निर्देशन गर्नुभो मैले उपनेताको हैसियतले लेखेर सरकारमा पठाइदिएँ ।’
Author Profile
Latest entries
- Main Newsमंसिर २, २०८१जनकपुरधामबाट धमाधम भाग्दैछन् व्यावसायी
- Main Newsकार्तिक ३०, २०८१कमला संस्कार र संस्कृति होः ढुङ्गाना
- Main Newsकार्तिक २८, २०८१गणेशमानमा पुगेर प्रकाशमानले सम्झें पुरानो सम्बन्ध
- Main Newsअशोज २९, २०८१डाइरेक्टरबाट हटाइएका डाक्टरलाई रेक्टर बनाउन चलखेल