आन्दोलन चर्काउँदै वडा अध्यक्ष, नियन्त्रण गर्दै नगर प्रहरी

काठमाडौं । काठमाडौंको न्यूरोडमा वडा अध्यक्षको नेतृत्वमा आन्दोलित स्थानीयको भिडलाई नियन्त्रण गर्न महानगर प्रहरीले लाठीचार्ज गर्नु परेको छ ।

सडकमा फुटपाथ विस्तार गर्न अग्रसर महानगरको पक्षमा अदालतले आदेश गरिदिएपछि विपक्षमा वडा अध्यक्ष उत्रेका हुन् । काठमाडौं –२२ का वडा अध्यक्ष चिनकाजी श्रेष्ठले आन्दोलनको अगुवाइ गरिरहेका छन् ।

आन्दोलनमा स्थानीय बासिन्दाको सहभागिता छ । महानगर प्रहरीले भिडलाई नियन्त्रणमा लिएर निर्माण कार्यलाई निरन्तरता दिनुपर्ने पक्षमा तैनाथ देखिएको छ ।

महानगरले केही दिन अघि फुटपाथ बनाउन सकडकको कालोपत्रे उप्काएको थियो । सडक विभागले आफ्नो अधिकार देखाउँदै महानगरलाई काम गर्न रोकिदिएपछि अदालत पुग्नु परेको थियो । अदालतले महानगरको पक्षमा आदेश गरिदिएपछि पुनः काम सुरु भएको हो ।

तर, वडा अध्यक्ष श्रेष्ठको अगुवाईमा स्थानीयले विरोध सुरु गरेको छ । सडक साँघुरो बनाएर फुटफाथ विस्तारको विपक्षमा स्थानीय छन् ।

Facebook Comments Box
    ट्याग: