रास्वपाको उपसभामुख पनि गुम्ने खतरा

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटामा उपसभामुख भएकी इन्दिरा रानामगरको पद जोखिममा परेको छ ।

अमेरिकी दुतावासलाई उपसभामुखको लेटरहेड दुरुपयोग गरी पत्र लेखेको भन्दै विवादमा परेकी उपसभामुख इन्दिराको पद खतरामा परेको हो । उनले १७ महिना अघि अमेरिकी दुतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि रास्वपाको भागमा रहेको उपसभामुख पद गुम्ने अवस्था सामुने आइपुगेको छ ।

उपसभामुख रानामगरले १७ महिना अघि भिसा प्रयोजनका लागि अमेरिकी दुतावासलाई पत्र लेखेकी थिइन् । भिसाका लागि प्रचलित प्रक्रिया विपरित आएको उपसभामुखको पत्र दुतावासले परराष्ट्र मन्त्रालयमा पठाइदिएको थियो । मन्त्रालयले संसद सचिवालयलाई पठाइदियो । सचिवालयले सभामुख समक्ष पठाएपछि केही समय गुपचुप राखिएको थियो । अहिले विवादमा परेको छ ।

उपसभामुख रानामगरले लैंगिक समानता, महिला अधिकार र महिला सशक्तिकरणमा काम गर्ने संस्था सिएसडब्ल्युको वार्षिक कार्यक्रममा भाग लिन अमेरिका जान लागेको भन्दै सोही कार्यक्रममा आफुसँगै जान लागेका उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको सँगै अन्तरवार्ताको समय मिलाइदिन भनेर दुतावासलाई पत्र लेखेकी थिइन् ।

विगतमा नभएको अभ्यास भन्दै उक्त पत्रलाई केरकार गर्न दुतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाइदिएपछि कुरा बाहिरिएको हो । यसवारे रास्वपालाई पनि जानकारी थियो । तर, इलाममा उपचुनाव हुने अन्तिम तयारीको समय भएकाले पार्टीले पनि तत्काल कुरालाई सामसुम राख्यो ।

यो विषय अक्षम्य रहेको भन्दै रानामगरको उपसभामुख पद जोगाउने सम्भावना कम रहेको एक सांसदले बताए । उनका अनुसार उपसभामुख पद गुमेपछि सांसद पद रहने कि त्यो पनि खारेज हुने भन्ने विषयमा कानुनी परामर्श लिने काम भइरहेको जनाइएको छ ।

Facebook Comments Box

Author Profile

न्यूज आज
न्यूज आज
    ट्याग: